बिराटनगर ।कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा भएको विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ महिनादेखि चोरी गर्ने गिरोह सक्रिय भएर कोशी प्रदेशको ३ वटा जिल्लाका विभिन्न स्थानको २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रन्सफर्मर चोरी गरेको विवरण सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले ट्रान्सफर्मर चोरी गर्ने गिरोह माघ महिनादेखि सक्रिय भएर ३ वटा जिल्लामा योजनाका साथ चोरी गर्ने गरेको खुलेको जानकारी दिए । उनले ट्रान्सफर्मर चोरी गर्ने गिरोह मात्र नभई चोरीका सामान खरिद गरेको आरोप ५ जनालाई समेत पक्राउ गरेको बताए ।
गत माघ १५ यता मोरङमा ८, सुनसरीमा १२ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सो ट्रान्सफर्मर चोरीमा संलग्न भएको आरोपमा मोरङको ग्रामथान गाउँपालिका –४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका –३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी –२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका –४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी –३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भइ हाल दुहबी –४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उक्त ट्रान्सफर्मर चोरीको सामान किनेको आरोपमा विराटनगर महानगरपालिका –३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर –६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी –३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी –२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका –४ का ३९ वर्षीय सीताराम राईलाई समेत पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको बताएको छ ।
गिरोह नै बनाएर ट्रान्सफर्मर चोरी गर्दै त्यहाँभित्रको तामाको तार, तेललगायत ट्रान्सफर्मरका अन्य सामाग्रीहरु राम्रो मूल्यमा बिक्री हुने बताउँदै, डिआइजी कार्कीले भने, ‘३ वटा जिल्लाका विभिन्न स्थानको ट्रान्सफर्मर चोरी हुँदा किसानले सिँचाइ गर्न समस्या, सर्वसाधरणलाई बत्ती बाल्न समस्या हुने गरेको थियो । यसरी ट्रान्सफर्मर चोरी हुन थालेपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको संयुक्त विशेष टोली बनाएर उनीहरुलाई पक्राउ गर्न सफल भएका हौं । उनीहरुले सुनसन हुने स्थानको पहिचान गरी बन्दोबस्तीका सामन, गाडीसहित जाने चोरी गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकाहरुको साथबाट चोरीमा प्रयोग गरिएका सामानसमेत बरामद भएको छ ।’
पक्राउ परेको गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेका छन् । उक्त चोरीमा प्रयोग भएका औजार डायल रेन्च २२ थान, सलाई रेन्व ३, पिलास ३, पेचकस ३, छिनो १, साङली १, कैची १ र ह्याक्सो बिलेट ३ थानसहित चोरी प्रयोग गरिने विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
डिआइजी कार्कीले उक्त सामानका साथै चोरीमा प्रयोग भएको को १ च ७७२९ नम्बरको पिकअप गाडीसहित प्रदेश १–०२–०५० प ७०९५, प्रदेश १–०२–०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १–०२–०५० प ३०४९ र को २९ प ४५४४ नम्बरको मोटरसाइकल बरामद भएको बताए ।