पाँचथर । पाँचथर जिल्लाको याङ्वरक गाउँपालिका–१ बिरूवाबाट दुई बालबालिका गत शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्।
पूर्ण आधारभूत विद्यालय बिरूवामा अध्ययनरत तीमध्ये एक कक्षा १ र अर्का कक्षा ४ मा पढ्ने स्थानीय बृखबहादुर राईका छोरा र छाेरी हुन्।
शुक्रबार बेलुकी बाजे–बजुको घरमा बास बसेका ती बालबालिका शनिबार बिहान घर फर्किन नआएपछि बेपत्ता भएका हुन्।
बालबालिकाका आमा वैदेशिक रोजगारीमा रहेको र उनीहरू बुबा बृखबहादुर राईसँगै बस्दै आएका थिए। शनिबार बिहान बृखबहादुरले छोराहरूलाई घर जान भनेका थिए र आफू गाउँ डुल्न निस्किएका थिए। तर छोरा र छाेरीहरू घर नफर्किएपछि उनले गाउँमा होहल्ला गरेर खोजीका लागि आग्रह गरेका थिए।
रातभर खोजी गर्दा पनि फेला नपरेपछि आइतबार बिहान परिवारले वडाध्यक्ष राजेन्द्र राईलाई घटनाबारे जानकारी गराएका थिए।
वडाध्यक्ष राईका अनुसार, जानकारी प्राप्त भएलगत्तै प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरूको टोली खटिएको छ।
“शुक्रबारदेखि हराइरहेका बालबालिकाको खोजीमा कुनै कसर बाँकी राखिएको छैन,” उनले केन्जो खबरसँग भने।
साथै, गाउँपालिकाले पनि बालबालिकाको शीघ्र पत्ता लागोस् भन्ने उद्देश्यले खोजीमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ। समाचार तयार पार्दासम्म पनि ती बालबालिका फेला परेका छैनन् भने सुरक्षाकर्मीहरूले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाइरहेका छन्।



 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

