झापा । बितेको २४ घण्टाभित्र झापामा सबैभन्दा बढी बिर्तामोडमा १२९ मिलिमिटर वर्षा भएको छ । पूर्वी नेपालमा भारी वर्षाका कारण नदीहरुमा जलसतह चेतावनी स्तरको नजिक पुगेको छ ।
बिर्तामोडपछि चन्द्रगढीमा १२०.२० मिलिमिटर वर्षा भएको छ । केचनामा ७३.६० मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १४० मिलिमिटर वर्षा भए त्यसलाई चेतावनीको स्तर मानिन्छ । याे धेरै भारी वर्षा हाे ।
त्यस्तै कन्काई नदीमा जलसतह २.३६६ मि. पुगेको छ । ३.८ मि. पुगेपछि चेतावनी स्तर र ४.३ मि. पुगेपछि खतराको स्तर मानिन्छ । त्यस्तै बिरिङमा ११२.७९४ मि. जलसतह पुगेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ । बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।