फुङलिङ, ताप्लेजुङ — १३ वर्षअघि ड्युटीमा खटिएको प्रहरी जवानको हत्या गरी फरार भएका सुवास लिम्बू अन्ततः प्रहरीले फुङलिङ बजारबाट पक्राउ गरेको छ।
मेरिङदेन गाउँपालिका–२ का २८ वर्षीय सुवासलाई ताप्लेजुङ जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अभियोगमा २०७१ साल असोज ३१ गते जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उनी फरार सूचीमा रहेर भारतको बैङलोर, हैदरावाद, चेन्नेई जस्ता सहरहरूमा लुकेर बस्दै आएका थिए।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार सुवास हाल ताप्लेजुङ फर्किएको गुप्त सूचनाको आधारमा प्रहरीले साउन १६ गते फुङलिङ बजारमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। “गोप्य जानकारीका आधारमा हामीले १३ वर्षदेखि फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएका हौं,” डिएसपी गौतमले भने।
सुवासमाथि २०६९ असोज १० गते दोभान बजारमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि हमला गरी प्रहरी जवान भूपाल आचार्यको हत्या गरेको र अर्का जवान चन्द्र देवानलाई गम्भीर घाइते बनाएको अभियोग छ। उक्त दिन मादक पदार्थ सेवन गरेका सुवाससहितका १०–१२ जनाले धारिला हतियार प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले प्रहरीको ३०३ राइफल समेत लुटेर लगेका थिए।
ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहर भइसकेका सुवासलाई पक्राउपछि अदालतमा पेश गरिएको थियो। अदालतले कैद पुर्जी जारी गरेसँगै उनलाई जिल्ला कारागार ताप्लेजुङ चलान गरिएको प्रहरी स्रोतले जनाएको छ।
शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित