पाँचथर– फिदिमको शनिवारे हटिया निक्कै पुरानो मानिन्छ । शिवालय मन्दिर नजिकै लाग्ने यो हटियाको अवस्था भने कन्तबिजोक छ । शनिवार हिलाम्मे ठाउँमानै दुःखले सामाग्री खरिद, विक्री भएको देखिन्थ्यो ।
स्थानीय उत्पादन बेच्ने किसानले भुईँमा सामाग्री राखेर बेच्नु पर्ने बाध्यता छ । पानी पर्दा ओतिने ठाउँपनि छैन ।
विभिन्न गाउँबाट कृषि उत्पादन, हस्तकलाका सामाग्री विक्री गर्न किसान र सहरका बासिन्दा खरिद गर्न यहाँ पुग्छन् । हरेक शनिवार बिहान लाग्ने यो हटियामा निक्कै चहलपहल हुन्छ । तर यो हटिया अव्यवस्थित छ । फिदिम– माथिल्ला गाउँ हुँदै मेची राजमार्ग जोड्ने सडकको छेउमा र फिदिम माविको जग्गामा अव्यवस्थित रूपमा हटिया सञ्चालन भईरहेको छ । वर्षाको याममा ठुलो समस्या हुन गर्छ । सहरको गहनाको रूपमा रहेको हटियाको कन्तबिजोक देखिन्छ ।
यहाँको हटिया सार्ने भनेर फिदिम नगरपालिकाले मुस्कान चोक नजिक ट्राफिक प्रहरी कार्यालय भन्दा मुन्तिर लाखौँ खर्चिएर संरचना बनाइएको थियो । बजार क्षेत्रभन्दा टाढा तथा भिरालो ठाउँमा व्यक्तिको जग्गा लिजमा लिएर संरचना बनाइएको थियो । सरकारले सामान्यतया व्यक्तिले बनाएको संरचना लिजमा लिने गर्छ तर यहाँ जग्गा लिएर सरकारले संरचना बनाएको थियो ।
तर नयाँ संरचना बनाएपनि त्यहाँ हटिया सञ्चालन हुन सकेन, पुरानै ठाउँमा फर्कियो । हटिया सञ्चालन हुन नसकेपछि संरचना खण्डहर बनेका छन् । झोडीले संरचना घेरिएका छन् । तर सञ्चालनमा नभएको यहाँको संरचनाको फिदिम नगरपालिकाले बार्षिक भाडा तिरिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले २ लाख ९० हजार ४ सय जग्गा धनीलाई तिरेको देखिन्छ ।
केन्जो खबरले खोजी गर्दा पाएको जानकारी अनुसार ब्यक्तिको जग्गा लिजमा जग्गा लिएर बनाइएको संरचना ३९ लाख ६५ हजार ४ सय ४७ रुपैयाँ सरकारी बजेट खर्च भएको छ । २०७६ सालमा जग्गा लिएर भिरालो ठाउँमा संरचना बनाइएको थियो । आर्थिक वर्ष २०७६/७७ मा फिदिम नगरपालिकाले १४ लाख ९७ हजार ६६ रुपैयाँ, २०७७/७८ मा कृषि ज्ञान केन्द्रसँगको साझेदारीमा नगरपालिकाले ४ लाख ५ हजार र २०७९/८० मा १० लाख रुपैयाँ खर्च गरेको छ । नयाँ सहरको फिदिमको कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९ लाख ८३ हजार ४ सय ८ रुपैयाँ बजेट खर्च भएको थियो । यत्रो खर्च हुँदापनि हटिया सञ्चालन भएन । प्रयोग विहीन संरचनामा क्षति हुँदै गएको छ ।
हटिया व्यवस्थापनमा के गर्ने विषयमा छलफल थालेको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले बताए । ‘हामी आउँदानै परबाट पुरानै ठाउँमा हटिया सरीसकेको थियो । अहिले फिदिम माविको जग्गामा हटिया भएकाले के गर्ने भन्ने विषयमा चासो लिएका छौँ’ काफ्लेले भने ‘अब हटिया कसरी व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छौँ । फिदिम माविकै जग्गा लिजमा लिएर टहरा बनाउन सकिन्छ कि भन्ने विकल्पमा गृहकार्य गर्छौ ।’
प्रयाेग विहिन संरचनाका तस्बिरहरू ः-