ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्री ठेक्का २० लाख १ हजार रुपैयाँमा तय भएको छ । यसपटक आयोजकले प्रतियोगिताको टिकट बिक्रीको जिम्मेवारी निजी व्यक्तिलाई हस्तान्तरण गरेका छन् । याे ताप्लेजुङमा मात्र नभई पूर्वी नेपालमै नयाँ अभ्यासका रूपमा लिइएको छ ।
मेरिङदेन गाउँपालिका–५, थुकिमाका विशाल लङ्वाले लिम्बूले ठेक्का प्रक्रियामार्फत टिकट बिक्रीको जिम्मेवारी पाएका हुन् । आइतबार फुङलिङ नगरपालिका–४ स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा आयोजक र लिम्बूबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा वडा अध्यक्ष दुर्गा पालुङवा, लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेन, कोषाध्यक्ष दावा शेर्पा, पूर्व अध्यक्ष नारायण थापा लगायतको उपस्थिति थियो ।
कोषाध्यक्ष शेर्पाका अनुसार लिम्बूले पहिलो चरणमा कुल रकमको ७५ प्रतिशत अर्थात् १५ लाख ७५० रुपैयाँ बुझाइसकेका छन् भने बाँकी २५ प्रतिशत रकम फाइनल खेलअघि बुझाउनु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
पूर्वी नेपालका पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लाहरूमा आयोजना हुने ठूला प्रतियोगिताहरूमा समेत यसअघि टिकट बिक्रीको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको थिएन । आयोजक आफैंले टिकट बिक्रीको व्यवस्थापन गर्दै आएका थिए । ताप्लेजुङ गोल्डकपमा यसपटक गरिएको नयाँ अभ्यासले आयोजकलाई टिकट व्यवस्थापनको झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ ।
सम्झौताअनुसार दर्शकहरूले क्वाटरफाइनलका खेलका लागि १०० रुपैयाँ, सेमिफाइनलमा २०० रुपैयाँ र फाइनलमा २५० रुपैयाँ तिरेर प्रवेश पाउने छन् ।
गतवर्ष दोस्रो संस्करणमा टिकट बिक्रीबाट २४ लाख ४८ हजार ५ सय रुपैयाँ आम्दानी भएको थियो । फाइनल खेलमा मात्रै ४ हजार ५६ दर्शकले २५० रुपैयाँ तिरेर खेल हेरेका थिए, जसबाट १० लाख १४ हजार रुपैयाँ उठेको थियो ।
तेस्रो संस्करणको प्रतियोगिता यही साउन २३ गतेदेखि ३१ गतेसम्म फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुँदैछ । विजेता टिमले ७ लाख २ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।