मेचीनगर, झापा —
मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ (JE) भाइरसको सङ्क्रमण पुष्टि भएको छ। संक्रमितमध्ये वडा नं. ३ की ३६ वर्षीया महिला र वडा नं. ५ की ५५ वर्षीया महिलामा यो रोग देखिएको हो। दुबैको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी गम्भीर भाइरस हो। यो रोग हाँस, कुखुरा, बङ्गुर, बकुल्ला आदि जङ्गली र घरेलु जनावरहरूमा हुने भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।
प्रमुख लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, बेहोस हुने, सास फेर्न गाह्रो हुने, कम्पन, पक्षघात आदि देखिन्छन्। समयमै उपचार नभएमा स्नायु प्रणालीमा गम्भीर असर पुग्न सक्ने र बिरामीको ज्यान समेत जान सक्ने खतरा हुन्छ।
बालबालिकालाई १२ महिनाको उमेरमा जापानिज इन्सेफलाइटिसको खोप लगाउन सिफारिस गरिएको छ। छुटेको खण्डमा पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने स्वास्थ्य शाखाले जनाएको छ।
सङ्क्रमण पुष्टि भएपछि रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी, डब्लुएचओ प्रतिनिधि डा. सोनिया भगत, डा. सङ्गीता साह लगायतको विज्ञ टोली मेचीनगर पुगेको छ।
उक्त टोलीले समुदायमा जनचेतना अभिवृद्धि गर्न, बिरामीको पहिचान र उपचार सुनिश्चित गर्न तथा स्वास्थ्यकर्मीलाई सक्रिय रूपमा खटाउन सुझाव दिएको प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिए।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीलाई घर–घर पुगेर सचेतना फैलाउन निर्देशन दिएका छन्। साथै, नगरवासीलाई लामखुट्टेबाट जोगिन झुल प्रयोग गर्न, शरीर ढाक्ने लुगा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।
मेचीनगरमा दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
मेचीनगरमा दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस