पाँचथर । फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने हेवा खोलामा बेली बृज निर्माण कार्य सम्पन्न भएको छ। सासुटारमा बनेको यो बेली बृजबाट स्थानीयको आवागमन सहज बनेको छ।
मच्छेबुङ–लुमाङदिन–भैसे–चारराते सडक खण्डमा पर्ने सो पुल एम/एस दोभान/डिआए जेभी उदयपुरले निर्माण गरेको हो। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड ४० लाख ९ हजार ७ सय २० रुपैयाँ लागतमा निर्माण गरिएको बेली बृजको सम्झौता गत चैत महिनामा भई काम असार महिनामा सम्पन्न गरिएको हो। निर्माण सम्पन्नपश्चात साउन महिनामा सफल भार परीक्षण गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मुकेश राज शाहाले जानकारी दिए।
यसअघि २०८० असार २ गते आएको बाढीले हेवा खोलामा रहेको पक्की पुल बगाएको थियो। त्यसयता अस्थायी डाइभर्सनमार्फत आवागमन हुँदै आएको थियो। तर बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यात्रु तथा सवारी चालकहरू सास्ती खेपिरहेका थिए।
बेली बृज निर्माण भएपछि वर्षायाममा पनि नियमितरूपमा आवातजावत गर्न सहज भएको छ। स्थानीयवासीहरूले यसलाई दीर्घकालीन राहतको रूपमा लिएका छन्।