ताप्लेजुङ । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको १५० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिने भएको छ। लाखेजात्रा पर्वको अवसरमा साउन २४ देखि ३१ गतेसम्म भानुजन माध्यमिक विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीले पहिलोपटक बाइक पुरस्कार पाउने भएका हुन्।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार फाइनल चरणसम्म प्रदर्शन गर्ने उत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको मोटरसाइकल दिइनेछ। बाइकको रंग र मोडलबारे कम्पनीसँग छलफल भइरहेको उनले बताए।
यो पुरस्कार प्रदान गरिने उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई आकर्षण गर्नुका साथै दर्शक संख्या वृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजकसहित आठ टिम सहभागी हुनेछन्। सहभागी टिमहरूमा आयोजक टिम, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च ब्वाइज क्लब, पोखराको सहारा क्लब तथा भारत सिलीगुढीको लेजण्ड फुटबल एकेडेमी रहेका छन्। गत वर्षको उपविजेता सलहेस बाहेक अन्य सबै टिम नयाँ आमन्त्रित हुन्।
विजेता टिमले नगद ७ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गत वर्षको तुलनामा यसपटक दुवै पुरस्कार राशीमा २ लाख र १ लाख रुपैयाँको वृद्धि गरिएको छ। साथै, अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यस वर्षको खेल तालिका पाथीभरा मन्दिरबाट सार्वजनिक गरिने तयारी भइरहेको छ। पाथीभरा मन्दिरको प्रचारप्रसारमा पनि टेवा पुग्ने विश्वासका साथ तालिका त्यहीँबाट सार्वजनिक गर्न लागिएको कोषाध्यक्ष शेर्पाले बताए।
शनिबार, साउन १०, २०८२ मा प्रकाशित