पाँचथर । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्न थालेपछि बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरुमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने छ ।
महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासकका जिल्ला भई बग्ने साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ ।
यसैगरी इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत जिल्लामा पनि बाढीको मध्यम जोखिम छ ।
बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लाहरुमा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला समेत छन् ।
विभागले सूचना जारी गरी बाढीको जोखिम रहेका क्षेत्रहरुमा सतर्कता अपनाउन भनेको छ ।




