पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिकामा साँझ अवेर सुरु भएको गाउँसभामा चर्का चर्कि परेको छ । मङ्गलवार साँझ अवेर नीति कार्यक्रम तथा बजेट पेस भएपछि नेपाली काँग्रेस तर्फबाट निर्वाचित वार्ड अध्यक्ष तथा जनप्रतिनिधिले विरोध जनाएका थिए । सार्वजनिक भएका भिडियोहरूमा गाउँपालिका अध्यक्ष तथा वार्डअध्यक्षहरू बिच चर्काचर्की परेको देखिन्छ ।
याङवारक–२ का वार्ड अध्यक्ष देउकुमार योङहाङ, ४ का सविन कुमार माबो र ६ का वार्ड अध्यक्ष अमृत कुमार योङहाङ सहितका जनप्रनिनिधिले विराध जनाएका थिए । वार्डलाई २० लाखमात्र सिलिङ दिएको, पालिकाबाट आफ्ना कार्यकर्तालाईमात्र बजेट दिने गरेको वार्ड अध्यक्षहरूको आरोप छ ।
गाउँपालिकामा नेकपा (एमाले)को बहुमत रहेको छ । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उपस्थितिमा हस्ताक्षर गर्न नमाने पछि पाँचथरको याङवरक गाउँपालिकाको गाउँसभा मंगलबार साँझसम्म धकेल्लियो । दिउँसो गाउँसभामा नआएका नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि साँझसम्म आएपछि सभा सुरु भएको थियो ।सुरुमा उपस्थितिमा हस्ताक्षर गर्न नमानेका काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले साँझमा भने हस्ताक्षर गरेका थिए ।
‘बहुमतको आधारमा हामीलाई पेल्ने काम भयो । वार्डलाई थोरैमात्र बजेट दिने गरिएको छ । पालिकाबाट बन्ने योजनामा पनि विभेद हुने हुने गरेको छ । त्यहीभएर हामीले गाउँसभामा विरोध जनाएका हौँ । हाम्रो कार्यक्रममा पालिका अध्यक्ष आउनु हुन्न ’ वार्ड न. ४ का अध्यक्ष मावोले भने ‘योजना पेस गरेर सभा स्थगित छ । हामी संशोधन प्रस्ताव पेश गर्छौँ । हामीलाई थाहा छ उहाँहरूसँग बहुमत छ, तर बहुमतले पेलेर लानेकी जनताबाट निर्वाचित जनप्रतिनिधिको कुरा सुन्ने त्यो उहाँहरूमा भर पर्छ ।’
गाउँसभाकाे पालिकाकाे फेसबुक पेजबाट लाइभ भइरहेकाे थियाे । चर्का चर्की भएपछि लाइभ काटिएकाे थियाे ।
नीति कार्यक्रम पेस भएपछिको सुन्य कार्यक्रममा छलफल भएको गाउँपालिका अध्यक्ष भीम बहादुर योङ्याले बताए ।
‘गाउँसभा सुरु गरेका छौँ । संशोधन प्रस्ताव राख्न पाउने समय छ । विधि अनुसार निर्णय हुन्छ । जायज माग छ भने सम्बोधन गर्नु पर्छ । हिजो पनि सम्बोधन गर्दै आएका छौँ’ उनले भने ‘भोलि मलाई उहाँहरूको सहयोग चाईन्छ, उहाँहरूलाई मेरो सहयोग चाईन्छ । भौगोलिक अवस्था अनुसार आवश्यकता आधारमा बजेट विनियोजित भएको हो । मेरोपार्टीको वार्ड अध्यक्ष धेरै सिलिङ उहाँहरूलाई कम दिएको होइन् । सहमति तथा छलफल गर्दा हुन्थ्यो ।’