पाँचथर–मेची राजमार्ग अन्तर्गतको हेवा निर्माण सम्पन्न हुने चरणमा पुगेको मोडुलर ब्रिज भाँचिए पछि अब बर्खामा के होला भन्ने चिन्ता सुरु भएको छ । गत असोजमा बेलि ब्रिज बगाएपछि त्यो भन्दा लामो र दर्बिलो भन्दै ७० मिटर लामो मोडुलर ब्रिज बनाउने काम अघि बढाइएको थियो ।
खोलामा अस्थायी डाईबर्सन गरेर अहिले गाडी सञ्चालनमा रहेपनि वर्षाको बाढी यो बगाउने भएकाले ताप्लेजुङ र पाँचथरको तीन स्थानीय तहका बासिन्दा चिन्तित छन् ।
प्रतिनिधि सभा सासद योगेश भटराई सहितले सदनमा तत्काल पुल बनाउने काम पुन ः अघि बढाउनु पर्ने कुरा उठाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले बैठक बसि पुनः निर्माण कार्य अघि बढाउका लागि मन्त्रालय लाइ अनुरोध गर्ने निर्णय गरेको छ । तत्काल पुनः पुल निर्माणका लागि के गर्न सकिन्छ भनेर छलफल गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
वारिपारि जोडिएको पुल भाँचिएको थियो । पुल भाँचिएर घाइते भएका मध्ये
सिमरा उपमहानगरपालिका बारा–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कार्यालय पाँचथरले जानकारी दिएको छ ।
७० मिटरको मोडुलर पुल बनाउने काम अन्तिम चरणमा पुगेको थियो । दशदिनभित्र गाडी कुदाउने भनेर सरकारी निकाय, ठेकेदारले निक्कै महेनत गर्दै थिए । पुल भाँचिएर बाँकी संरचना खोलसम्म लडेको छ । पुलले मेची राजमार्ग अवरुद्ध बनाएको छ । भारत सरकारले उपलब्ध गराएको ब्रिजको जडान गर्न साढे तीन करोडको ठेक्का लगाइएको थियो ।
के भएर यस्तो हुन् गयो भन्ने यकिन छैन । भौतिक पूर्वाधार मन्त्रालय सात दिनको म्याद दिएर भौतिक पूर्वाधार मन्त्रालयले पाँच सदस्य छानबिन समिति समेत बनाएको छ । समितिले स्थलगत अध्ययन गरेर प्रतिवादेन बुझाउने बताइएको छ । अध्ययन टोलि सोमवार बिहान घटना स्थल पुग्ने कार्यक्रम रहेको छ ।
भारतीय प्राविधिकसमेत झिकाएर पुल बनाउने काम अघि बढाइएको थियो ।
‘सकेसम्म राम्रो बनाउने काम गरेका थियौँ । पुलवारपार जोडिसकेका थियौँ । यहाँभन्दा ठुलो दुख के होला ? माथिल्लो निकायसँग कुराकानी भईरहेको छ’ सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले भने ‘पचास मिटरको बेलिब्रिज तथा पुल दुई वर्षमा बगाएपछि सत्तरी मिटरको पुल बनाउन अघि बढाइएको थियो । बर्साद आउदै छ अब के गर्ने भन्ने समस्या छ ।’
बेलिब्रिजको विकल्प बेलिब्रिजनै रहेको उनको भनाई छ ।
चाडै पुल बनेर बर्खामा सास्ती भोग्नु नपर्ने भन्दै ताप्लेजुङ र पाँचथरको याङ्वरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दा खुसी भएका थिए । हेवा खोलामा गत असोजदेखि डाईबर्सनबाट गाडी चलाउदै आइएको छ । बर्खामा डाईबर्सन सञ्चालन हुन कठिन हुने भएकाले यो क्षेत्रका बासिन्दाको ध्यान यही ब्रिज तर्फ थियो ।
नेपालका लागि नयाँ थियो
७० मिटर लामो मोडुलर ब्रिज नेपालका लागि नयाँ थियो । दुबैतर्फ पुल राख्ने ठाउँपनि निक्कै दर्बिलो बनाएको देखिन्थ्यो । नेपालका लागि नयाँ पुल बन्ने भएकामा विभिन्न क्षेत्रका इन्जिनियरहरूलेपनि ध्यान दिएका थिए । नेपालका लागि नयाँ भएकाले भारतीय राजदूतावासलाई अनुरोध गरेर भारतबाट सिनियर समरजित दासलाई झिकाइएको थियो । उनी उक्त पुल उत्पादन गर्ने भारतको सरकारी कार्यालयमा कार्यरत इन्जिनियर पनि हुन् । केहीदिन देखि हेवामा नै पुल जोड्ने काममा सहयोग गरिरहेका थिए ।
बाढी, पहिरोले सडक अवरुद्ध हुँदा तत्काल गाडी सञ्चालन गर्नका लागि बेलिब्रिज, मोडुलर ब्रिज राख्ने गरिन्छ । केही वर्ष गाडी चलाउनका लागि सिङ्गल स्पानको पुल बनाइदै थियो । विगतका पुल छोटो भएकाले यो पुल राख्न लागिएको थियो । ३ करोड ५० लाख रुपैयाँमा ब्रिज राख्नलाई दोभान सुपर सौगात लाइट बिल्डर्सलाई ठेक्का दिइएको थियो ।
बर्सेनि समस्या
हेवाखोलाले बर्सेनि दुख दिईरहेको छ । २०८० सालको असारको पहिलो साता बाढीले यहाँको पुल बगाएको थियो । पुल बगाएपछि एक महिना लगाएर पचास मिटर लामो बेलिब्रिज बनाएर गाडी सञ्चालनमा ल्याइएको थियो । उक्त बेलिब्रिज पनि २०८१ असोज–१२ गते बाढीले बगायो । पुल बगाएपछि अस्थायी डाईबर्सन बगाएर गाडी चलाइयो । यो बिचमा सर्वसाधारणले धेरैनै दुखः पाएका थिए ।
बर्षेनी पुल बगाउन थालेपछि लामो पुल राख्नेकाम अघि बढाइएको थियो । सोहि अनुसार संरचना बनाइएको थियो ।
यस अघि पनि पुल भाँचिएको थियो
पुल बनाउँदै गर्दा भाँचिएको घटना यो पहिलो भने होइन । २०८० साल बैशाख ७ गते रुकुम–जाजारकोट– डोल्पा जोड्ने सडकको ठुलो भेरीमा बनाईदै गरेको ४८ मिटर लामो बेलिब्रिज बनाउदै गर्दा भचिएको थियो । यो बेलिब्रिज भाँचिदा ३ जनाको मृत्यु भएको थियो ।
पुल भाँचिएसँगै अब के हुन्छ भन्ने अन्योलता छ । बर्खा नजिकिएसँगै डाईसर्बन बनाउने पीर एकातिर छ भने अब पुल बन्छ कि बन्दैन् भन्ने अन्योलता अर्को तिर छ ।