गिरिराज बाँस्कोटा
पाँचथर–जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका इलामको माङसेबुङ–५ का तीन जनाको उपचारका क्रममा मृत्यु भयो ।
इलामकै सूर्योदय गाउँपालिका–४ ठुलो श्रीवुङ्गमा ज्यालामा चिया टिप्न आएका ५२ वर्षीय अमर लावती, २२ वर्षीय मनीषा थेगिम र १७ वर्षीय नुमा लावती जेठ–७ गते तरकारीको रूपमा च्याउ खाएका थिए । विरामी परेपछि उपचारमा लगिएको उनीहरू बाच्न सकेनन् ।
विराट नर्सिङ होममा उपचारमा लगिएका तीनै जनाको मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपि एकनारायण कोइरालाले जानकारी दिए ।
‘कुन विषालु हो कुन होइन भन्ने नजानेर पनि खाएको पनि हुन सक्छ । हामीले सचेतना जगाईरहेका छौँ, तर पनि दुखद घट्ना भयो’ कोइराला भन्छन्, ‘जङ्गलको च्याउ खानु हुदैन भनिरहेका छौँ । हरेक वर्ष विभिन्न जिल्लामा यस्ता घटना हुने गरेका छन् ।’
कोइरालाले भने जस्तै जङ्गलबाट ल्याएको च्याउ हरेक वर्ष देशका विभिन्न भु–भागमा जङ्गली च्याउ खाएर मृत्यु भएका तथा विरामी परेका घटना हुने गरेका छन् । वर्षायाम सुरु हुन् थालेपछि यस्ता घट्ना बढ्दै जान्छ । तरकारीको रूपमा खाने हुँदा परिवारनै सखाप भएका घटना पनि छन् ।
वर्षासँगै जङ्गल, वारी तथा रुखमा च्याउ उम्रिन थालेका छन् । यसपल्ट देशका विभिन्न ठाउँमा विरामी पर्ने, ज्यानै जाने घटना हुन् सुरु भएको छ । भरसक जङ्गलको च्याउ प्रयोग नगर्न विज्ञहरूको सुझाव रहेने गरेको छ ।
कोशीका पहाडी जिल्लामा हरेक वर्ष विषालु च्याउका कारण यस्ता घटना हुने गरेको छ । बैशाखमा तेह्रथुमको फेदाप गाउँपालिकामा ७ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक रोशन कामतीले जानकारी दिए । उनको अनुसार गत वर्षमा पनि चार जना विरामी परेका थिए । यी उदाहरणमात्र हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशमा १३ जनाको मृत्यु भएको थियो । विगतलाई सम्झिने हो भने २०७२ सालको जेठको दुईसातामा पाँचथरमा १० जनाको मृत्यु भएको जस्ता नमिठो घटना पनि छन् ।
तीन वर्षमा कोशी प्रदेशमा १ सय १५ जङ्गली च्याउले असर पारेका घटना भएका थिए । यि घटनामा १ सय ८ जना विरामी परेका थिए । परम्परादेखि खादैँ आएको भनेर च्याउ खाने गरिन्छ ।
अनुमानका भरमा विष नभएको च्याउ खाँदा विरामी पर्ने गरेका छन् । ज्यान जाने तथा विरामी भएर लाखौँ खर्च हुने घटना भएपनि यसको प्रयोगबाट हुने घटना भईरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशमा २७ घटनामा ४ जनाको मृत्यु भएको देखिन्छ । यस्तै २०८०÷८१ मा ६६ घटनामा ६ जनाको मृत्यु, ६३ जना विरामी परेका छन् । चालु आर्थिक वर्षमा २२ घटनामा ३ जनाको मृत्यु र ४५ जना विरामी परेका छन् ।
जङ्गलमा पाईने च्याउमा हुने मस्किमोल, आइबोटेनिक एसिड, इन्डोलिक एसिडले मानिसलाई असर पर्ने विज्ञहरूको भनाई छ ।
वर्षा याम सुरु भएसँग पहाडका भित्ता, वारी तथा रुखका ठुट्टामा च्याउ पलाउन थाल्छ । विषाक्त नभएको अनुमानमा जङ्गल तथा बारीबाट ल्याएको च्याउ तरकारीको रूपमा खाँदा बर्सेनि देशका विभिन्न ठाउँमा सर्वसाधारणको मृत्यु हुने र विरामी पर्ने गरेका छन् ।
परम्परादेखि खाई आएको तथा स्वादिलो हुने भन्दै जङ्गली च्याउको प्रयोग हुने गरेको छ । ‘देख्दा एउटै जस्तो हुने भएपनि च्याउहरूमा स–साना भिन्नता हुन गर्छ । विभिन्न किसिमका भ्रमपनि रहेका छन् । नेपालमा ७६ प्रजातिका विषालु च्याउ रहेका छन्’ च्याउ सम्बन्धी अध्ययन गरेका मेची बहुमुखी क्याम्पस झापाका उपप्राध्यापक अजय न्यौपाने भन्छन् ‘मान्छेको मृत्युनै हुने घटना भएका छन् । जङ्गलमा किरा लागेको च्याउ खादा विरामी भईदैन, कुनै रुखमा भएको च्याउमा विष हुदैँन भन्ने जस्ता भ्रम पनि छन् । आवरण हेरेर हचुवाको च्याउ सङ्कलन गरी सेवन गर्नु घातक हुन्छ ।’
नेपालमा सबैभन्दा धेरै मान्छे मार्ने च्याउ भने १२ प्रजातिका रहेको देखिन्छ । जङ्गल च्याउ प्रयोगनै गर्नुनै नहुने जिल्ला अस्पताल पाँचथरका प्रमुख डा बुद्धिबहादुर थापा बताउँछन् । ‘खुल्ला आँखाले विषालु हो होइन भन्ने छुट्याउन सकिदैन् । च्याउमा हुने टक्सिनले लिभरनै ड्यामेज गराउछ । सुरुमा खासै लक्षण देखिदैन् । विस्तारै विस्तारै असर बढ्दै जादा ज्याने जाने गर्छ’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रबाट राम्रो स्वास्थ्य केन्द्र पु¥याउन समय लामो लाग्छ । जङ्गली च्याउ प्रयोगनै नगरौँ भनेर हामीले भन्दै आएका छौँ ।’