काठमाण्डाैं । ‘तँलाई मार्न पाँच करोड रुपैयाँको सुपारी आएको छ । त्यति नै पैसा हामीलाई दिएर नमार्ने अफर तैँले राख । यो तेरो परिवारको सुरक्षाका लागि हो भन्ने बुझ् । आइतबारसम्म पैसा तयार हुन पर्यो ।’
पोखरा–१६, लामाचौरस्थित सच्चाई केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई गत १८ माघमा यस्तै म्यासेज आयो । हिन्दी भाषामा फोन र म्यासेज आएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यो घटनामा संलग्न दुई जनालाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा–१४ आर्थर का ४२ वर्षीय दीपकबहादुर क्षेत्री पक्राउ परेका हुन् । यी दुई जनाले पोखरा महानगरपालिका–८ स्थित कोठाबाट यो आपराधिक गतिविधि चलाउन सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए ।
युट्युबमा भिडियो हेरेर ‘टार्गेट’ तय
सच्चाई सञ्चालक प्रकाश र उनकी श्रीमती सुशीला क्रिस्चियन धर्म मान्नेबीच लोकप्रिय छन् । ‘सच्चाई केन्द्र नेपाल’ नामक उनीहरूको युट्युब च्यानलमा एक लाख ३८ हजार सब्सक्राइबर छन् । धम्की दिनेहरूले उनलाई युट्युबमै देखेका थिए । उनको भिडियो हेरेपछि पैसा दिन सक्ने आकलन लक्ष्मण र दीपकले गरेका थिए । धम्की दिनुअघि उनीहरू प्रकाशको अवस्था बुझ्न र उनको नम्बर लिन लामाचौरस्थित सच्चाई केन्द्र पुगेका थिए ।
१३ माघमा त्यहाँ गएर उनीहरूले दुई घण्टा बिताएर प्रकाशको नम्बर ल्याए । त्यसको पाँच दिनपछि प्रकाशलाई फोन अनि म्यासेज गरे । पाँच करोड रुपैयाँ नदिए प्रकाश र उनको परिवारलाई मारिदिने धम्की उनीहरूले दिएका थिए ।
दुई दिनपछि २० माघमा उनीहरू फेरि सच्चाई केन्द्र गए । दोस्रोपटक सच्चाई केन्द्र जानुको उद्देश्य थियो- हामीले गरेको फोन-म्यासेजको असर कस्तो पर्यो ?
उनीहरू दोस्रोपटक सच्चाई जाँदा प्रहरीले पछ्याइरहेको थियो । तर, प्रहरीले तत्काल पक्राउ नगरी उनीहरूको गतिविधि नियालिरह्यो । लक्ष्मण र दीपक तेस्रोपटक पनि २३ माघमा सच्चाई केन्द्र पुगे । पैसा नआएपछि पुगेका उनीहरूले त्यहाँ आधा घण्टा बिताएका थिए ।
व्यवसायीदेखि नेतासम्म टार्गेट
उनीहरूको टार्गेट पैसावाला हुन्थे । उनीहरूको साथबाट बरामद भएको डायरीमा ‘बिग मनी, बिग टार्गेट’, किड्न्याप, फिरौती, सुट-आउट, प्रोटेक्सन मनी, रिच किड्स, नेता, व्यापारी, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, मेनपावर माफिया, गणतन्त्र, राजतन्त्र, हिन्दु राष्ट्र, धर्म निरपेक्षताजस्ता शब्द लेखिएको छ ।
८ पेजमा चल्तीका नेता, उद्योगपति, व्यवसायीको नाम लेखिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको नाम पनि त्यो पेजमा उल्लेख छ । ‘दुर्गा प्रसाईं, बालकृष्ण खाँणलगायत ३०-३५ जनाको नाम त्यसमा छ । कतिको छोराछोरीको नाम पनि लेखिएको छ,’ एसपी थापाले भने ।
पक्राउ परेका दुई जना अन्य कुनै गिरोहसँग जोडिए/नजोडिएको विषयमा अब अनुसन्धान हुने उनले बताए । पक्राउ परेकाको साथबाट ३ वटा पुस्तक, एउटा नोटबुक, विभिन्न व्यक्तिका नाम लेखिएको ८ वटा पेज, ४ वटा मोबाइल, सिमकार्ड ९ वटा, एउटा खुकुरी, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, टर्च लाइट, पेन्चिसलगायत भेटिएको छ ।
कतारबाट फर्केलगत्तै योजना
पक्राउ परेका लक्ष्मण दर्जी कतारबाट एक महिनाअघि मात्र फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनी चार वर्ष कतार बसेर आएका थिए । १२ पास गरेका दीपक भने बेरोजगार हुन् । दीपकबहादुर क्षेत्री जिल्ला प्रहरी कार्यालय पर्वतबाट २०७९ सालमा हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परेर छुटेको देखिएको छ । त्यसबाहेक उनीविरुद्ध २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट सार्वजनिक मुद्दा खेपेको प्रहरीको रेकर्डमा खुलेको छ ।
उनीहरूको साथबाट आधा केजी गाँजा, बन्दुकमा प्रयोग हुने छर्रा बरामद भएको छ । त्यसैले प्रहरीले पक्राउ परेका दुई जनामाथि लागुऔषध ओसारपोसार, हातहतियार तथा खरखजना र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।




