झापा । झापाको बुद्धशान्तिमा एकजना श्रमिकको हत्या भएको छ । पाँचथर नागीका विक्रम सेनेहाङको हत्या भएको हो ।
बुद्धशान्ति ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर याङवरक गाउँपालिका नागी घर भएका अन्दाजी ३५ वर्षीय सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
हिजो साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा आज बिहान ५ः१३ बजे उपचारको क्रममा सेनेहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईप्रका धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।




