काठमाडौँ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त बनेको इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको माहाेल तात्न थालेको छ ।
निर्वाचन आयोगले वैशाखका लागि उपनिर्वाचनको तयारी गरिरहेको छ । यसका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् ।
२०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको तयारी थालिएको हो ।
इलाम–२ मा मुख्यरूपमा नेपाली कांग्रेस र नेकपा एमालेबीच यहाँ प्रतिस्पर्धा हुने देखिएको छ । तर, इलाम १ बाट निर्वाचनमा पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यहाँ उम्मेदवारी दाबी गर्ने संकेत देखिएको छ ।
गत निर्वाचनमा एमाले नेता नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले हराएका थिए ।
एमालेको तयारी
नेकपा एमालेको एक महिना अगाडि बसेको जिल्ला कमिटी बैठकले उपनिर्वाचनबारे जथाभावी प्रचार गर्न तथा उम्मेदवारको सम्भावित नाम सार्वजनिक नगर्न भनेको थियो ।
एमाले जिल्ला कमिटीका एक नेताले भने, ‘उपनिर्वाचनको माहोल बिग्रने भएकाले केन्द्रबाट नै जथाभावी प्रचार तथा उम्मेदवारी खडा नगर्न ह्विप जारी भएको छ ।’
एमाले स्रोतले दिएको जानकारी अनुसार सुवास नेम्वाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवारी बनाउने कुरा पार्टीभित्र गाइँगुइँ रूपमा चलेको छ । तर, यसबारे कुनै औपचारिक छलफल तथा सल्लाह नभएको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बताए ।
बस्नेतले भने, ‘कसलाई उठाउने भन्ने निर्णय केन्द्र र जिल्लाको पार्टी संगठनले गर्छ, अहिले हामीले यो मान्छे नै हुन सक्छ भनेर भन्ने अवस्था छैन ।’
केन्द्रले जिल्लालाई नाम पठाउन भनेको खण्डमा पठाउने र केन्द्रले नै टिकट दिएको खण्डमा पनि ती उम्मेद्वारलाई आफूले साथ दिने बस्नेतको भनाइ छ ।एमाले जिल्ला कमिटीका एक नेताका अनुसार एमालेबाट सुहाङ नेम्वाङसँगै नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायतको नाम पनि चर्चामा छ ।
उनले भने, ‘अध्यक्ष ओलीजीले चाहनुभयो भने सुहाङलाई पनि टिकट दिने सम्भावना छ ।’
सुहाङ पेशाले कानुन व्यवसायी अधिवक्ता हुन् । तर, उनले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनैपर्छ भन्ने पक्षमा नरहेको र आफ्ना पिताको शीर निहुँरिन नदिने बताउने गरेका छन् ।
सुहाङलाई आउँला त जिम्मेवारी ?
एमाले सचिवालयका एक नेताका अनुसार सुहाङले पनि आफू उठ्ने इच्छा जाहेर गरेका छन् । पछिल्लो समय पिताको मृत्युपछि उनी इलाममा हुने हरेक पार्टीको कार्यक्रम र अभियानमा पुग्ने गरेका छन् ।
जिल्ला सचिवालयका ती नेताले भने, ‘उहाँलाई उम्मेदवार बनाए पनि जित्ने सम्भावना छ । तर, पार्टीमा लामो योगदान तथा खटेका नेताहरू पनि भएकाले सल्लाह गरेर मात्र अगाडि बढ्ने कुरा छ ।’
एमाले अध्यक्ष ओलीका नजिकका नेताका अनुसार सुहाङ र ओलीबीच निरन्तर छलफल र सम्वाद भइरहेको छ । यसले गर्दा अन्तिममा ओलीले सुहाङलाई नै टिकट दिने सम्भावना पनि छ ।
कांग्रेसको तयारी
नेपाली कांग्रेसले यतिखेर ‘समुदायमा कांग्रेस’ अभियान चलाइरहेको छ । यो अभियानका लागि केन्द्रले इलाममा कांग्रेस प्रवक्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई खटाएको छ ।
उननिर्वाचन हुने भएर पनि समुदायमा कांग्रेस अभियानमा यहाँ देउवाले आफू अनुकुलका नेता खटाएको कतिपयको बुझाइ छ ।कांग्रेस प्रवक्ता विश्वकर्माका अनुसार इलाममा बैशाखमा उपनिर्वाचन हुने भएका कारण ‘समुदायमा कांग्रेस अभियान’मा नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखिएको छ । यहाँका ४२ वडामा नै ‘समुदायमा कांग्रेस अभियान’मा उत्साह देखिएको उनको भनाइ छ ।
विश्वकर्माले खबरहबसँग भने, ‘यहाँ एउटै वडाको कार्यक्रममा ३ सय सम्म मानिसहरू आउनुहुन्छ । उपनिर्वाचन हुने भएकाले यो क्षेत्रमा विशेष रौनक छ ।’
नेपाली कांग्रेसले नेम्बाङसँग ११४ मतले हारेका कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्कालाई नै दोहो-याउला कि भनेर धेरैले आकलन गरेका छन् ।
तर, एमालेले यहाँ सुहाङलाई टिकट दिए कांग्रेसले पनि युवालाई नै उठाउन सक्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् ।
कांग्रेस जिल्ला कार्यसमितिका एक नेताले खबरहबलाई भने, ‘खड्कालाई नदिने कि भन्नेमा देउवा पनि हुनुहुन्छ रे । तर यहाँ खड्काले जित्ने सम्भावना बढी छ । पहिला पनि धाँधली भएर हराइएको हो ।’
तर, यो पटक खड्काले छोड्ने संकेत देखाएका छैनन् । उनले भने, ‘मेरो त अधिकार नै हो । म त घाइते मान्छे हो । मैले केही भन्नुपर्छ र ? जसले टिकट पाए पनि कांग्रेसले जित्ने हो । मजबुत छ । सबै साथीहरूले साथ दिनुभएको छ ।’
तर, कांग्रेस उच्च स्रोतका अनुसार डम्बरलाई टिकट नदिएर अरू युवा तथा सिनियरलाई दिनुपर्छ भन्ने आवाज स्थानीय कार्यकर्ताहरुको छ ।
कांग्रेसबाट डम्बरसँगै टिकटको आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापा लगायत छन् । यसमध्ये कुमाल खड्का भन्दा जुनियर हुन् । केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।
तर, उनीहरूले पनि अन्तिममा डम्बरलाई सहयोग गर्ने सक्ने नेताको भनाइ छ । कांग्रेसका ती नेताले भने, ‘डम्बरजीलाई तयार हुनुहोस् भनेर केन्द्रले भनिसकेको छ रे, तर एमालेले युवा उठायो भने त उहाँको साटो युवालाई नै दिनुपर्ला कि ?’
झलनाथको सम्भावना कति ?
नेकपा एकीकृत समाजवादीका अध्यक्षको गृहजिल्ला हो इलाम । यसअघि उनी इलाम–१ बाट निर्वाचन लड्दा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । खनाललाई कांग्रेस–माओवादी सहितको गठबन्धननले सहयोग गरेको थियो । तर, खनाल २ हजार ९ सय ५७ मतले पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि खनालले निर्वाचनमा धाँधली भएको भन्दै आपत्ति जनाएका थिए ।