झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए ।
‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।’
उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ ।
विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । ‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’, उनले भने ।




