इलाम । बिनासुनुवाई भारतीय जेलमा ४० वर्ष बिताएपछि घर ल्याइएका इलामका ६४ वर्षे दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र परेका छन् । अस्पताललाई बुझाउने पैसा नभएपछि उनी करिब छ महिनादेखि चितवनको एक अस्पतालमा ‘बन्धक’झैं बनेका हुन् ।
भारतीय जेलबाट ल्याइएपछि गतवर्ष उनलाई परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्री लगेको थियो । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएपनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।
दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले छ महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको बताए । ‘ठूलोबुबाको उपचारमा त्यहाँ सात लाख १५ हजार रुपैयाँ खर्च भएको थियो,’ गोपालले भने, ‘तीन लाख रुपैयाँ त बुझायौं, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बन्धकझैं हुनुभएको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’
गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट प्रस्ताव आइरहेपनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताए । ‘अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी थियो, अहिले हिसाब–कति पुग्यो थाहा छैन, अस्पतालले बारम्बार फोन गरिरहेको छ,’ गोपालले भने, ‘ठूलोबुबालाई भारतीय हाइकोर्टको आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।’ थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।
ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रीका अध्यक्ष डा.गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए । ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो,’ डा.भन्टानाले भने, ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’ उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए ।
‘अस्पतालले दुर्गाप्रसादलाई डिस्चार्ज गर्न अनुरोध गरेको लामो समय भइसक्यो, परिवारजन सम्पर्कमा हुनुहुन्न,’ डा.भन्टानाले भने, ‘हामीले सकेसम्म सहुलियतमा उपचार गरेका छौं, अहिले पनि अस्पतालले विभिन्न सुविधामा खर्च छुट दिएरै उहाँलाई राखेको छ, परिवारजनले उहाँलाई घर लैजानुु राम्रो हुन्छ ।’ आफू कार्यालयबाहिर रहेकाले अहिले कति रकम दुर्गाप्रसाद अस्पतालबाट डिस्चार्ज हुन्छन् भन्ने चाहिँ यकिन गर्न नसकेको डा.भन्टानाले बताए ।
दुर्गाप्रसादका भतिजा गोपालले जेलबाट छुटेर आएपछि दुर्गाप्रसादमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको बताए । ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,’ उनले भने, ‘अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।’
इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए । विभिन्न संघ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उनकी आमाको निधन भइसकेको छ ।
सन् १९८१ मै जेल परेका दुर्गाप्रसादको मुद्दामा चार दशकसम्म कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् छ÷छ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी ०७७ चैत ७ मा रिहा गरेको थियो । चिकित्सकले उनले नौ वर्ष नौ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।
एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) घर भएकै बेला दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जिलिङमा त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेकाले त्यहीं उनको मृत्यु भएको अनुमान परिवारलाई थियो । परिवारजन पनि बसाइँ सरेर लुम्बाक गए ।
०६७ सालतिर दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्काे मुद्दामा ०७७ सालतिर जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए । यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।
इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।
उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको हो ।
कोलकातास्थित हाइकोर्टले उनलाई तत्कालका लागि पाँच लाख (भारु) क्षतिपूर्ति दिन आदेश गरेपछि उनलाई महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकरभिट्टासम्मै आएर क्षतिपूूर्ति रकम हस्तान्तरणसमेत गरेका थिए ।
पालिका पेज