पाँचथर ।पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगितामा आयोजक स्वतन्त्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा शुक्रबारबाट सुरु भएकाे फिदिम नगर कपको उद्घाटन खेलमा इलामको देउमाइ स्पोर्टिङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजकले इलामलाई टाइब्रेकरमा ५-४ गोलअन्तरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निर्धारित समयमा सुरुवाती अग्रता इलामले लिएको थियो । इलामका लागि रविन मगरले खेलको ९ मिनेटमै गोल गरेका थिए । तर, पहिलो हाफकै २७औँ मिनेटमा आयोजकका कप्तान पुकार गुरुङले गोल गर्दै खेलमा फर्काए ।
तर, टाइब्रेकरमा आयोजक नै भाग्यमानी सावित भयो । जसमा कप्ता गुरुङ, दर्पण गुरुङ, गगन गुरुङ, दिवश गुरुङ र रोहित तामाङ प्रहार गोलमा परिणत भयो भने इलामका कप्तान रोहित राईको प्रहार आयोजकका गोलरक्षक जीवन परियारले रोकेका थिए ।
इलामका लागि बालकृष्ण राई, रविन मगर, रोजित खनाल र रोशन मगरको प्रहारमात्र गोलमा परिणत भएको थियो । आज (शनिबार) झापा अर्जुनधाराको शनिश्चरे एफसीले याेङ ब्वाइज साखेजुङ इलामसँग खेल्नेछ । प्रतियाेगिताकाे विजेताले नगद १ लाख ८० हजार पाउने छ ।