झापा । झापाको दमक नगरपालिकाले दमक- १ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गरेको छ। साथै एक सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ।
तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक- ८ का १०६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक- ३ की १०६ वर्षीया नरमाया सोराली, दमक-१० की १०५ वर्षीया नर्वदा खनाल, दमक- ७ की १०५ वर्षीया मीनादेवी कार्की र दमक- १ की १०१ वर्षीय चन्द्रमाया लावतीलाई सम्मान गरेको हो।
नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १०७ वर्षिय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको नगरप्रमुख रामकुमार थापाले बताए।
ज्येष्ठ नागरिकहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।