धनकुटा । धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा एक जना इन्जिनियरिङका विद्यार्थीलाई तमोर नदीले बगाएको छ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ मा पर्ने दिलुङटारबाट तमोर नदीले बगाएको हो । सहिदभूमि गाउँपालिका–१ सफाई र साँगुरीगढी गाउँपालिकाको दिलुङटारमा तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । त्यही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रवार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । खत्री नदीको वारी सफाई र पारी दिलुङटारमा इन्जिनियरहरु बसेर पुल निर्माण स्थलको नापजाँच गर्दै थिए । नदी किनारको ढुंगामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको हो ।
शुक्रवार साँझदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी जारी राखिएको भए पनि नदीमा बाढी आएका कारण अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
खत्री काठमाण्डौको थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ । दुई दिन अघि मात्र क्याम्पसबाट ६ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा आएको थियो ।