दिपक बोहोरा ।
विद्यालयमा विद्यार्थी तीन जना छन् । तर, शिक्षक छ जना छन् । ती शिक्षक ३ जना बिद्यार्थी पढाएर तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला तपाईंलाई । तर सत्य यही हो, फिदिम नगरपालिका- १० को याङनाम आधारभूत विद्यालयमा यस्तै छ ।
सामुदायिक विद्यालय सञ्चालन गर्न नेपाल सरकारको शिक्षा नियमावली अनुसार एक जना शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ । पाँचथरको फिदिम नगरपालिकास्थित एक विद्यालयमा ६ शिक्षक र ३ जना मात्र विद्यार्थी रहेको पाइएको छ । ३ वटा भवनमा ८ कोठा छन् । विद्यार्थी ३ जना मात्रै रहेको सुन्दा अचम्म लाग्न सक्छ ।
कक्षा ५ सम्म रहेको याङनाम आधारभुत विद्यालयमा छ जना शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट २५ किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । सो विद्यालयमा एक प्रधानाध्यापक, ३ जना शिक्षक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी ६ जना कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन् । विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेका छन् ।
गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका प्रधानाध्यापक ओजाहाङ जबेगुले बताए । भर्ना हाजिरीमा ४२ जना उल्लेख रहे पनि विद्यालयमा जम्मा ३ जना मात्र बिद्यार्थी भेटिए । आइतबार बिद्यालयमा पुग्दा कक्षा एकमा १ छात्र, कक्षा ३ र कक्षा ४ मा एक एक जना गरेर २ छात्रा मात्र भेटिए । कक्षा २ र ५ पुरै खाली थियोे । ‘पोहोरसम्म जसोतसो विद्यार्थी थिए,’ प्रधानाध्यापक ओजाहाङ जबेगुले भने, ‘तर यो वर्षबाट विद्यार्थी भएनन्, विद्यालय नै रित्तियो ।’
बि.स २०१० साला स्थापना भएको यो बिद्यालयमा अघिल्लो वर्ष सम्म बिद्यार्थी संख्या राम्र्रै रहेको बिद्यालयको प्रधानाध्यापक जबेगुले बताए । २०४२ सालमा उत्कृष्ट नतिजा निकालेको भन्दै पुर्वाञ्चल शिक्षा निर्देशनालयमा पुस्कृत भएको यो बिद्यालयमा अहिले बिद्यार्थीनै आउन छाडेको थेगीमले बताए । विद्यार्थीको संख्या भने न्न्युन छ । विद्यार्थी नै नभएको उक्त विद्यालयमा दरवन्दीका ६ शिक्षक कार्यरत छन् । शिक्षक भए पनि उनीहरुले पढाउनु पर्दैन । विद्यालय कुरेकै भरमा तलब पाइरहेका छन् । बिहान दश बजे शिक्षकहरु विद्यालय पुग्छन् । चार बजेसम्म विद्यालय खोल्छन् । अनि बन्द गरेर जान्छन् । विद्यालय कुरेरै उनीहरुको जागिर पाक्छ । ‘विहान दश बजे विद्यालय गयो, हाजिर गर्यो अनि चार बजेसम्म बिरामी कुरैझैं विद्यालय कुरेर फर्क्यो,’ स्कुलमा भेटिएका एक शिक्षकले भने, ‘विद्यार्थी नै छैनन् के गर्नु ?’
अभिभावकले यो बिद्यालयबाट नजिक रहेको निजि बिद्यालयमा बिद्यार्थीहरु पठाउ थाले पछि बिद्यार्थी संख्या कम हुदै गएको उनले बताए । नजिक रहेको अर्को खलङगाटार माध्यमिक बिद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराउदा यो बिद्यालयमा बिद्यार्थीहरुको संख्या घटेको प्रअको दाबि छ । विद्यार्थी नभएपछि अहिले कक्षा कोठामा बेन्चहरु अलपत्र छन् । सो वडाका धेरैजसो व्यक्ति आफ्ना बालबच्चा खलङगाटार माबिमा लगेर पढाउने गरेका छन् । कतिपयले नजिकै रहेको बोर्डिङमा भर्ना गरेका छन् । ‘त्यहाँ अंग्रेजी पढाइ हुने भएकाले गाउँमा भएका विद्यार्थी त्यहीँ जान्छन्,’ प्रअ जबेगुले भने ।
बिद्यार्थी संख्या कम हुदै गए पछि अर्को आर्थिक वर्षबाट यस बिद्यालयलाई पनि अंग्रेजी माध्यमबाट पठनपाठन सूरु गराइ बिद्यार्थी फर्काउने अभियानमा बिद्यालय लागेको प्रधानाध्यापक ओजाहाङ जबेगुले बताए ।