पाँचथर । पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदिमा पर्ने माझीटारमा २६ वर्ष पछि स्थानिय माझी युवाहरुले डुङ्गा सञ्चालन गरेका छन् । तमोर नदिमा २०५३ सालमा झोलुङ्खे पुल बने पछि माझीटारका माझीहरु पुरानो पेशाबाट बिस्थापीत भएका थिए ।
माझीटारका युवार माझी अगुवाहरुले पुर्ख्यौली पेसालाई निरन्तरता दिदै तमोरमा पर्यटक तान्ने लक्ष्यका साथ काठे डुङ्गा सञ्चालन गरेका छन् ।
माझिटार मा घुम्न आउने आन्तरिक पर्यटकलाई जल यात्रा गराउदै तमोरमा घुमाउने उद्देश्यले फलेदोको काठबाट काठे डुङ्गा निर्माण गरिएको र यस जलयात्राका लागी आवश्यक गर्ने सुरक्षाका सामाग्रीहरु सहित डुङ्गा सञ्चालन गरिने स्थानिय अगुवा राम माझिले जानकारी दिए ।
स्थानियहरुको एक लाख रुपैयाँमा तयार गरिएका् डुङ्गाबाट माझीहरुको संस्कृती संरक्षण गर्ने र तमोर नदिमा परम्परागत तरीकाले पर्यटकहरुलाई तमोरमा सयर गराउने लक्ष्य रहेको माझीले जानकारी दिए ।
माझीटारमा विगतमा माछा मार्ने, डुङ्गा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँनयाँ पेशा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ । माझीटारका माझी समुदायले अहिले माछा मार्न त छाडेका छैनन् तर उनीहरुले माछामा आधारित व्यवसाय पनि थालेका छन् । विकास निर्माणका कार्य आँगनमै आइपुगेपछि उनीहरु कामदार तथा सीपमूलक पेशामा जोडिन थालेका हुन् ।
माझीटार हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार भएको छ भने तमोर करिडोर सडक निर्माणका क्रममा छ । दशकअघि माझीटारमै पक्की पुल निर्माण भएको छ । बिकास संगै यहाँका माझी समुदायका मानिसहरु सीपमूलक पेशामा जोडिन थालेका हुन् ।
आन्तरिक पर्यटन चलायमान हुँदै गएपछि माझी समुदायले त्यसबाट लाभ लिने माध्यम खोज्न थालेका छन् । यस क्रममा माछा मारेर बिक्री गर्ने मात्रै होइन, माछाका परिकार बिक्री गर्न व्यवसाय पनि थालेका छन ।
व्यवस्थित र व्यावसायिकरूपमा माझी समुदायले होटल, रेस्टुरेन्ट नलाए पनि ग्राहकका आवश्यकता पूर्ति गरिरहेकै छन । । माझीटारमा माझी समुदायबाटै आधा दर्जन बढी होटल सञ्चालनमा ल्याइएका छन । । फिदिम आइपुग्ने धेरै पर्यटक माझीटारका माछाको स्वाद लिन यहाँ पुग्छन् । अहिले विकासको गतिसँगै नयाँनयाँ पेशा व्यवसायमा जोडिने क्रमले आर्थिक अवस्थामा पनि सुधार भएको छ ।