पाँचथर– पाँचथर पुनः कोरोना संक्रमण फैलिदै गएको छ । संकास्पद विरामी बढ्न थालेपछि जिल्ला अस्पताल पाँचथरमा साउन–९ गतेदेखि एटिजेन्ट परिक्षण सुरु गरिएको थियो ।
अस्पतालका अनुसार ९ गतेदेखि आजसम्म (१५ गते) ८५ जनाको परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यि मध्ये ३ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ ।
संक्रमित ३१ जना मध्ये १० जना बालवालीका रहेका छन् । यि मध्ये पाँच बर्ष मुनीका २ र ५ देखि १५ बर्षका ८ जना रहेका छन् । एक जना १ बर्षिय बच्चीलाई पनि कोरोना संक्रमण देखिएको छ ।
यो पल्ट संक्रमित हुने बालवालीको संख्या बढ्दै गएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । उनका अनुसार ज्वरोका विरामीको संख्या पनि धेरैनै छ ।
पोजेटिभ देखिएका मध्ये १३ जनाले कुनैपनि खोप लगाएको देखिदैन । १३ जनामा बालवालीकापनि पर्छन् । दुईवटा खोपलगाएका ७ जना र अतिरिक्त खोप लगाएका २ जनालाई समेत कोरोना संक्रमण देखिएको छ । खोप लगाएकालाई संक्रमण भएपनि असर कम पर्ने देखिएको थापाले बताए ।
हालसम्म पाँचथरमा १ लाख ७ हजार १ सय ७३ जनाले दुईमात्रा खोप लगाएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले बताए । उनका अनुसार अतिरिक्त खोप (बुस्टर) ३७ हजार ८ सय ४७ जनाले लगाएका छन् । खोप लगाउन आउनेलाई पर्याप्त खोप रहेको उनले जानकारी दिए ।
कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को बैठक बसेको छ । राजनीतिक दलका प्रमुख तथा अन्य सरोकारवाला सहित बसेको उक्त समितिको बैठकले सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, संघ संस्थामा मास्क तथा सेनिटाईजरको प्रयोग अनिवार्य गर्ने निर्णय गरेको छ । साथै नागरिकलाई मास्क प्रयोग, समाजिक दुरी, सेनिटाईजकारे प्रयोग अनिवार्य गर्न आव्हान गर्ने निर्णय गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
बैठकले मास्कको प्रयोग तथा स्वास्थ्य सचेतना जगाउनका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।