काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशसन(एमसीसी)मा सत्ता गठबन्धन विभाजित हुँदा बल प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोर्टमा पुगेको छ ।
गठबन्धनमा नेपाली कांग्रेस पारित गराउने र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनको अडानमा रहँदा फागुन १६ को समयसीमा घर्किँदै गर्दा एमसीसी अघि बढ्न सकेको छैन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समयसीमा कट्न नदिन गठबन्धनका दलहरुको विकल्प खोज्दै प्रतिपक्षी एमालेतिर सम्वाद बढाएका छन् ।
गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्र र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको असहयोगका बीच प्रधानमन्त्री देउवाले विकल्प खोज्न आफ्ना दूतहरु, कांग्रेस नेताहरु बालकोटतिर परिचालित गरेका छन् । बिहीबार राती आफैं पनि पत्नी आरजु राणा देउवालाई लिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै डेढ घण्टा वार्ता गरे । वार्ता सकारात्मक भएको बालुवाटार स्रोतले दाबी गरेको छ।
देउवानिकट कांग्रेसका एक नेताकाअनुसार प्रतिपक्षी दलका नेता ओलीले प्रतिनिधिसभाबाट अनुमोदन गर्न आफूले के कस्तो सहयोग गनुपर्ने हो त्यसको खाका ल्याउन कांग्रेसलाई आग्रह गरेका छन् । आफूलाई भेट्न आएका देउवा दम्पतीलाई एमाले अध्यक्ष ओलीले विस्तृत खाका मागेका गरेका हुन् ।
बालुवाटारमा गठबन्धनको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट गएका थिए । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न अध्यक्ष ओलीसँग सहयोग मागेका थिए । सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे सहमति बन्न नसक्दा प्रतिनिधि सभा बैठकमा टेबल हुन सकेको छैन ।
प्रधानमन्त्री देउवाले ओलीसँग भेट गरेपछि आज विहान पुन: सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठक पनि निष्कर्षविहीन हुन पुग्यो । आन्तरिक गृहकार्य गरेर आइतबार पुन: बस्ने तय भएको छ ।
गठबन्धन निष्कर्षविहीन भएपछि आजको संसद बैठकमा पनि एमसीसी टेबल भएन । बैठकपछि संसद भवनमा कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गम्भीर आपत्तिजनक र राष्ट्रघाती प्रावधान संशोधन नभएसम्म टेबल नहुने र टेबल गरिए देशभर आगो बल्ने, हातखुट्टा भाँचिने चेतावनी दिएका छन् । त्यसैगरी माओवादी केन्द्रका नेता राम कार्कीले एमसीसी संशोधन गरेर राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने बताए । तर कांग्रेस महामन्त्री गगनकुमार थापाले एमसीसीमा सहमति नभए गठबन्धन भत्किने चेतावनी दिएका छन् ।
नेताहरुको अभिव्यक्तिले नै सत्ता गठबन्धनमा सहमति नजुट्ने परिदृश्य देखा परेको छ । सबै दल आ-आफ्नै अडानमा हुँदा गठबन्धन पनि भत्किने र एमसीसीमा एमालेसँग सहकार्य हुने सम्भावना बढेर गएको छ । यहिँ बेला प्रतिपक्षी दलका नेता ओलीले विस्तृत खाका मागेपछि यो सम्भावना अझै बढेर गएको छ ।
यद्यपि यो सम्भावना आइतबारको सत्ता गठबन्धनको बैठकले निर्धारण गर्नेछ । गठबन्धन कायम रहने वा एमालेसँग कांग्रेसको सहकार्य अघि बढ्ने भन्ने आइतबार तय हुनेछ ।