अमेरिकी अनुदानको मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) ले नेपालको सत्ता राजनीतिलाई नै यतिखेर गरमागरम बनाइदिएको छ । अघिल्लो कार्यकाल अर्थात् २०७४ भदौ २९ गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नै अमेरिका पठाएर कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गर्न लगाएका प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो यसलाई संसदबाट अनुमोदन गराउने पहलमा लागेका छन् । तर, सत्ताघटक अर्को ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवाको प्रस्ताव स्वीकार गरिरहेका छैनन् ।
सत्तारुढ दुई नेतामध्ये देउवा यतिखेर सकस अर्थात हैरानीमा छन् । हैरानी यस अर्थमा कि कम्प्याक्ट सम्झौतामा हस्ताक्षर उनकै प्रधानमन्त्रीत्वकालमा भएको थियो । आफूलाई लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस सभापति देउवालाई यतिखेर ‘लोकतन्त्रको केन्द्र’ अर्थात अमेरिकाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन बढाएको दबाबले तनाब दिएको छ ।
गत शनिबार (माघ १५) गते बेलुकी बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकमा देउवाले अमेरिकाबाट भोगेको यही शासन झल्किएको थियो । बैठकमा सहभागी नेताहरूले मिडियाहरूसँग गरेको अनौपचारिक कुराकानी अनुसार एमसीसी पारित गराउन देउवाको आतुरी निकै बढेको देखिन्थ्यो ।
सोही बैठकमा देउवाले एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र लगायत दल तयार नभए सत्ता गठबन्धन नै टुट्ने ‘धम्की’ दिएको पनि केही सञ्चार माध्यमले दाबी गरेका छन् । तर, बैठकमा सहभागी अन्य दलका नेता र कांग्रेसकै केही नेताहरूले देउवाले त्यो हदसम्म कुरा नगरेको बताइरहेका छन् ।जे होस्, एमसीसी पारित गराउन देउवाले पछिल्लो साता बढी नै सक्रियता देखाइरहेको चाहिँ प्रष्ट छ ।
एमसीसीमा देउवाको वास्तविक लय
बालुवाटार स्रोतका अनुसार देउवा एमसीसी अनुमोदन गराउन हतारिनुमा अमेरिकाले दबाब बढाउनु नै हो । सार्वजनिक हुनेगरी नभने पनि देउवाले आगामी चुनावमा कांग्रेसको सहारा खोजिरहेका गठबन्धन दललाई चुनावमा पनि सहकार्य गर्ने भए तत्काल एमसीसी अनुमोदन गर्न सहमत हुनुपर्ने शर्त राखेका नेताहरू बताउँछन् ।
देउवा सन्निकट स्थानीय चुनावअघि नै एमसीसी अनुमोदन गराउन चाहन्छन् । सम्झौतालाई तत्काल संसदमा टेबल गर्न र छलफलमा लैजाने उनको चाहना छ । उनीनिकट स्रोत भन्छ, ‘प्रधानमन्त्री देउवाले पनि गठबन्धन नै भत्कने गरी अहिल्यै पारित गरिहालौं भन्नुभएको छैन, अहिले संसदमा टेबल गरिहालौं, विस्तारै छलफल चलाउँदै गरौंला भन्ने उहाँको लाइन देखिन्छ ।’
देउवाले विकास साझेदार अमेरिका र पश्चिमा दाता राष्ट्रहरू नभडिकउन् भनेर एमसीसी तत्काल संसदमा टेबल गरिहाल्न आतुरता देखाएको उनीनिकट नेताहरू बताउँछन् ।
सतर्क प्रचण्ड !
बालुवाटारमा अमेरिकी सकस पन्छाउन सक्दो चाँडो हरहालतमा एमसीसी संसदबाट अनुमोदन गराउने कोर्स चलिरहँदा ललितपुरको खुमलटारमा बसोबास गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दकसमा परेका छन् । तर, उनी देउवाको प्रस्तावमा सतर्क बनेका छन् ।
नेकपा (एमाले) सँग चुनावदेखि सरकारसम्म सहकार्य गरी पार्टी नै एक बनाएपनि धर नपाएपछि पुनः पहिलेकै पार्टी ब्यूँत्याउनुपर्ने स्थितिमा पुगेका प्रचण्ड आफ्नै पहलमा गठित गठबन्धन सरकार एमसीसीकै कारण ढल्न दिन चाहँदैनन् । त्यसैकारण, एमसीसी हरहालतमा अनुमोदन गराउन देउवाले दबाब दिइरहँदा प्रचण्ड यसबारे सटिक धारणा राख्न अन्कनाइरहेका छन् ।
‘संसदमा टेबल गरेर छलफल गर्दै गरौंला, चुनावपछिसम्म टारौंला’ भन्ने देउवाको लाइन कार्यान्वयनमा लैजाँदा फुत्त पारित भैदिने हो कि भन्ने त्रासका कारण प्रचण्डले चुनावपछिसम्म सार्न चाहेको स्रोतको भनाइ छ ।
पछिल्लो समय एमसीसी सहायता स्वीकार नगर्न चीनले समेत दबाव बढाउँदै लगेकाले बरू गठबन्धन टुटोस्, तर एमसीसीमा समर्थन नजनाउने प्रचण्डले आफू निकटस्थहरूसँग बताउने गरेका छन् ।
गठबन्धनमै तीन
बालुवाटार र खुमलटारका दुवै स्रोतसँग एमसीसीले सत्ता गठबन्धनलाई अप्ठ्यारोमै पारेको हो भनी जिज्ञासामा दुवै स्रोतले लगभग एउटै निचोड सुनायो ः ‘अमेरिकाले एमसीसी पारित गराउन पछिल्लो समय निकै दबाब बढाएको सत्य हो । यो दबाब देउवादेखि प्रचण्ड हुँदै माधवकुमार नेपालसम्मले झेलिरहेका छन् ।
सत्ताघटक अर्को दल जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुलमखुला एमसीसीकै पक्षमा उभिएका छन् । अमेरिकासँग आफू अनुकूल ‘ट्युनिङ’ मिलाएका भट्टराईले सामाजिक सञ्जालसम्मै रस्साकस्सी गरिरहेका छन् । एमसीसीका सवालमा सत्तारुढ दलभित्रै देउवा र भट्टराई एकातिर हुने, माधवकुमार नेपाल र उपेन्द्र यादव नखुल्ने अनि प्रचण्ड सटिक कुरा राख्न नसक्ने दकसपूर्ण स्थितिमा छन् ।’