काठमाण्डाैं । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइराला आफ्नै परिवारको साथ लिन असफल भएका छन्।
आफ्नै समूहका नेता र परिवारका सदस्यहरुको साथ लिन असफल भएपछि शेरबहादुर देउवाविरुद्धको प्रतिस्पर्धामा उनी केही कमजोर देखिएका छन्। १३ औँ महाधिवेशनमा आफूले दिएका रामचन्द्र पौडेलबाट पनि उनलाई खुलेर साथ मिलेन। अर्कातिर आफ्नै परिवारबाट महामन्त्री डा. शशांक कोइरालाले पनि साथ दिएनन्।
डा. कोइरालाले आइतवार गरेको पत्रकार सम्मेलनमा १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार पौडेल र महामन्त्री निर्वाचित डा. शशांक दुवैजना उपस्थित हुने भनिएको थियो। तर, पौडेल र कोइराला दुवैजना त्यहाँ अनुपस्थित रहे। यीमध्ये पौडेलले जारी निर्वाचनमा मतदानमा भाग नै नलिने भएका छन्। डा. शशांकले पनि आफूलाई देउवा र डा. कोइराला दुवै समूहले केन्द्रीय सदस्यको उम्मेदवार सूचीमा राखेपनि कुनै समूहमा नरहेको स्पष्टीकरण दिएका छन्।
पौडेल र महामन्त्री डा. कोइराला कुनै समूहको पक्षमा नखुलेको सन्देश र अभिव्यक्ति दिनुको अर्थ हो, सभापतिका प्रत्यासी डा. कोइराला कांग्रेसका दुई प्रभावशाली नेताहरुको समर्थन पाउन असमर्थ देखिएका छन्। १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र महामन्त्रीमा विजयी डा. शशांक दुवैलाई डा. शेखरले समर्थन गरेका थिए। डा. शेखर उतिबेला पनि सभापतिका दावेदार थिए। तर, पौडेलले दावेदारी नछाडेपछि उनी अर्को (१४ औँ) महाधिवेशनका लागि नेतृत्वमा दावेदारी पेश गर्ने भन्दै पछि हटेका थिए।
त्यो बेला तत्कालीन संस्थापन पक्षले सभापतिमा पौडेल र महामन्त्रीमा डा. शशांकलाई उम्मेदवार बनाएको थियो। त्यसमध्ये शशांक विजयी बने तर पौडेल पराजित भए।डा. शेखर, डा. शशांक र सुजाता कोइरालासहित तीन जना सभापतिका दावेदार देखिएपछि १३ औँ महाधिवेशनमा शशांकलाई महामन्त्रीको उम्मेदवार बनाएर कोइराला परिवारभित्र सहमति खोजिएको थियो। उतिबेला १४ औँ महाधिवेशनमा डा. शेखरलाई सभापतिको उम्मेदवार बनाउने समझदारी पनि भएको थियो। तर, १३ औँमा महामन्त्री निर्वाचित डा. शशांकले १४ औँ महाधिवेशनमा समेत सभापतिमा दावेदारी पेश गरे।
डा. शेखरले दावेदारी नछाडेपछि उनी मैदानमा त छैनन्। तर, संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा. शेखरको पक्षमा पनि खुल्न मानिरहेका छैनन्। संस्थापन इतर समूहबाट सभापतिमा ‘सर्वसम्मत’ उम्मेदवार बन्न चाहेका पौडेल पनि यो चाहना पुरा नभएपछि चित्त दुखाएर डा. शेखरको पक्षमा नखुली मौन बसेका छन्। संस्थापन इतर समूहका प्रभावशाली नेताद्वय पौडेल र डा. शशांक मौन रहँदै डा. शेखरको पक्षमा खुल्न नचाहेपछि त्यसको लाभ संस्थापन पक्षका सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पुग्ने देखिएको छ।
डा. शेखर प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका डा. शशांकलाई देउवा पक्षले समेत प्यानलमा समावेश गरेको छ। निर्वाचन सुरु हुने दिन बालुवाटारले पौडेल र डा. शशांक दुवैले सभापतिमा देउवालाई समर्थन गरेको प्रचार अभियानलाई तीव्र पारिदिएको छ।
बालुवाटारको यस्तो प्रचारका कारण पौडेल र डा. शशांक समर्थक महाधिवेशन प्रतिनिधिहरुको मत विभाजित हुनेछ। डा. शेखरले प्राप्त गर्नुपर्ने मत विभाजन हुनु भनेको प्रतिस्पर्धामा देउवालाई लाभ हुनु हो। महाधिवेशनमा निर्वाचन सुरु हुने दिन देउवा पक्षले जुन खालको प्रचार गर्दै भ्रम छर्न खोजेको छ, त्यसबाट देउवा सोचेजस्तो बलिया रहेनछन् भन्ने सन्देश पनि गएको छ।
तर पनि पौडेल र डा. शशांकको समर्थन डा. शेखरलाई छैन भन्ने सन्देश बाँडेर बालुवाटारले प्रतिपक्षी खेमालाई कमजोर देखाउने कुरामा सफलता पाएको छ।