विराटनगर ।प्रदेश १ प्रदेशसभाको दशौं अधिवेशन तथा पाँच वर्षे प्रदेशसभाको बैठकको अन्तिम बैठकमा सबै दलले नामाकरण नटुंग्याएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभामा बोल्दै नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले काम गर्न नसकेको आम आलोचना रहेको बताउँदै केही नयाँ दल भनिनेहरूले यहि नारा बनाइरहेकोप्रति ध्यान दिनुपर्नेमा जोड दिए ।
आचार्यले अधिकार तल दिने भनेर भाषण गर्ने तर, अधिकार माथि केन्द्रीकृत गरेको बताए । पहिलेको आफूले उठाएका मुद्दामा कुनै पनि दलले अडान लिन नसकेको बताउँदै आचार्यले नामाकरण टुंगो लगाउन नसकेको विषयमा जनतालाई जवाफ दिनुपर्ने बताए । यसअघि किराँत शब्द ‘जात’ भन्दै आएका उनले संसदमा भने यो सभ्यता भएको बताए । किराँत सभ्यतालाई तोडमोड गर्दा विवाद भएको उनले बताए ।
उनले राजनीतिक दलहरूले लाभहानी हेरेको कारण विवाद बढ्दै गएको बताउँदै नामाकरणको विषयमा जाँदा डुब्ने अवस्था रहेकोले थाती राखिएको उनले बताए । जिम्मेवारी, साईज र हैसियतअनुसार नाम नटुंग्याएको विषयमा दोषको जिम्मा लिनुपर्ने उनको भनाई छ ।
प्रदेश जोगिले जस्तो कमण्डलु बोकेर थाप्दै हिंड्ने र दिएको खाने खालको भएको उनले बताए । प्रदेशलाई संघले पनि असहयोग गरेको उनको भनाइ छ । समयमा कानुन, बजेट र योजना भएको भए ५ वर्षमा भएको काम एकै वर्षमा सकिने दाबी गर्दै उनले त्यसमा प्रदेश सरकारहरू चुकेको बताए । यो विषय सिंगो राजनीतिक पार्टीको समीक्षाको विषय हुनुपर्ने उनले बताए ।
यद्यपि तुलनात्मक रूपमा प्रदेश १ अरू प्रदेशभन्दा कमजोर नरहेको बताउँदै उनले काम राम्रो गर्न नसकेकोमा भने माफी माग्नुको विकल्प नभएको बताए । नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आफूहरू उत्साहका साथ प्रदेश आएको बताउँदै पहिलो कार्यकालमा संरचना निर्माणमा महत्वपूर्ण काम भएको बताए ।
यद्यपि संसदलाई प्रभावकारी बनाउन केही भूमिका नपुगेको उनले बताए । कोइरालाले प्रदेशको नामाकरणको विषय दुई तिहाईको सरकारले सजिलो भएपनि ल्याउन नसकेको बताए । उनले नामाकरणको विषय प्रक्रियामा लानै नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । प्रक्रियामा नजाँदा जनताले केही थाहा नपाएको, दलहरूको इच्छाशक्ति नै नाम टुंगोमा पुर्याउने खालको नरहेको कोइरालाले बताए । नाम नटुंगिनुमा आफूहरूको असफलता रहेको भन्दै उनले रोष्टमबाटै जनतासँग हात जोडेर नमस्कार गर्दै माफी मागे ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट बोल्दै सांसद धिरेन्द्र शर्माले प्रदेशसभाले ६४ वटा कानुन निर्माण गरेको भएपनि केही महत्त्वपूर्ण ऐन ल्याउन नसक्नु कमजोरी रहेको बताए । उनले नामाकरणको विषय जनताको चासो भएपनि गर्न नसक्नु कमजोरी भएको बताए । नामाकरणमा सबै दलले जनतालाई धोका दिइएको बताउँदै उनले पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गर्दा नामको टुंगो लगाउन नसकेको बताए । यद्यपि सबै नसकिएको र दोस्रो सुरूवात हुने बताउँदै उनले आशावादी रहनुपर्नेमा पनि जोड दिए ।
५ वर्षे कार्यकालमा कोभिड महामारी र नेकपाको विभाजनले देशलाई समस्यामा पारेको बताउँदै शर्माले गठबन्धनले त्यसबाट मुक्त बनाउने प्रयास गरिरहेको बताए । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बोल्दै सांसद सरिता थापाले उल्लेख्य कानून निर्माणको काम भएको बताउँदै उनले अप्ठ्यारोलाई पनि पार लगाएको बताइन् ।
केन्द्र सरकारसँग सहकार्य र समन्वय नभएको हो कि जस्तो लागेको उनले बताइन् । थापाले दुई तिहाईको सरकार संघदेखि प्रदेशसम्म टिक्न नसक्दा जनताको अपेक्षामा कुठाराघात भएको बताउँदै केही काम अवरुद्ध भएको हुनसक्ने बताइन् । नामकरण हुन नसकेको जस अपजस दलहरूको हैसियतअनुसार लिन तयार हुनुपर्ने उनको भनाई थियो ।
बैठकमा बोल्दै जसपा संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ मन्त्री जयराम यादवले बनेका कानुन कार्यान्वयनमा लान आवश्यक भएकोमा जोड दिए । उनले केहि ऐतिहासिक काम गरेपनि प्रदेशको नामाकरण नटुंगिदा जनतामा नकारात्मक सन्देश गएको बताए । नाम नटुंगिनुमा यसअघिको नेकपा कालिन सरकार बढी जिम्मेवार रहेको उनको भनाई थियो ।
ठूलो दल एमाले भएपनि आफूले भनेकै हुनुपर्छ भन्दा घमण्ड देखाएको यादवको भनाई छ । यादवले ठूला दलले अधिकार दिन र माग्न नसक्दा जनअपेक्षा पूरा गर्न नसकेको भन्दै जनतासँग क्षमा पनि मागे । यस्तै राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुःखद पक्ष रहेको बताइन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले प्रदेश अधिकारसम्पन्न हुनुपर्ने बताउँदै पालिकाहरू प्रदेश मातहत हुनुपर्नेमा जोड दिइन् । उनले संघीयता जहिले पनि पहिचानसहित हुने बताउँदै पहिचानपक्षधर सशक्त भएका कारण प्रदेशको नाम पहिचानविरोधी आउन नसकेको बताइन् ।
ratopati