बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्रका अस्पतालहरूले लापर्बाही तरिकाले नदीमा फोहोर फाल्न थालेका छन् । वातावरणीय तथा मानवीय क्षति गराउन सक्ने अस्पतालजन्य फोहोर नदीमा फालेको पाइएको हो ।
कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने बिरिङ नदीमा बिर्तामोडका अस्पतालसहितका फोहोर फालिएका छन् । अस्पतालबाट निस्कने फोहोर राखिएका प्लास्टिकका पोका नदीमा तैरिरहेका छन् । एक किलोमिटर क्षेत्रमा फोहोरको थुप्रो देखिन्छ ।
अस्पतालमा प्रयोग गरिएका सिरिन्ज खोलामा जथाभावी फालिँदा स्थानीयवासी त्रसित बनेका छन् । कनकाई–९ घैलाडुब्बाका स्थानीय भीमप्रसाद राजवंशीका अनुसार क्रिस्टाझार सामुदायिक वन क्षेत्रको पर्यटकीयस्थलनजिकै फाहोर फ्याँकिएको छ ।
यस ठाउँमा हामी प्राय: नुहाउन आउछौं । गाउँलेले वस्तुभाउलाई पानी खुवाउँछन् । राजवंशी समुदायमा मरिमराउ हुँदा तीन दिनको काम ‘तीन सिनान’ यही घाटमा गरिन्छ,’ राजवंशीले भने,‘अब त खोलामा पाइला राख्नै डरमर्दो बन्यो । सबै हस्पिटलका फोहोरहरु खोलाभरि छ । सिरिन्ज जथाभावी फालिएका छन्, खोलामा कसरी छिर्नु ?’
खोलामा फालिएका फोहोरका पोकामा बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताललगायतका अस्पतालका पुर्जी भेटिएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्पतालजन्य फोहोरको व्यवस्थापन सम्बन्धित अस्पतालले नै गर्ने गरेको बताए । ‘अस्पतालको फोहोर नगरपालिकाले उठाउने गरेको छैन । उनीहरू आफैले फोहोर व्यवस्थापन गर्दै आएका छन् । अस्पतालजन्य फोहोर खोलामा फाल्नु गम्भीर गल्ती हो,’ उनले भने ।
मनमोहन मेमोरियल अस्पतालका अध्यक्ष नरेश खरेलले भने अस्पतालजन्य फोहोर खोलामा फालेकोबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
इकान्तिपुरबाट