झापा । भद्रपुरस्ति मेची प्रादेशिक अस्पतालमा सञ्चालित मौखिक प्रतिस्थापन उपचार केन्द्रमा धाएर लागूऔषधको लत छुटाउन चाहने बढेका छन् । २०७२ कात्तिकदेखि अस्पतालभित्रै सञ्चालन भइरहेको उक्त केन्द्रमा सात वर्षको अवधिमा दुव्र्यसनको लत छुटाउन चाहने एक हजारभन्दा बढी लागुऔषधका प्रयोगकर्ताले सेवा लिएको केन्द्रकी सहजकर्ता एवं स्टाफ नर्स दीपा निरौलाले बताइन् ।
उक्त केन्द्रमा लागुऔषध प्रयोगकर्ताको लत घटाउने उद्देश्यले चिकित्सक र नर्सको प्रत्यक्ष निगरानीमा नियमितरुपमा मात्रा मिलाएर मेथाडोल र ब्रुप्रिनोर्फिन नामका औषधि सेवन गराउने व्यवस्था मिलाइएको हुन्छ । सुरुका वर्षमा थोरैले र हालैका वर्षमा धेरैले उपचार सेवा लिइरहेको पाइएको छ ।
लागूऔषध प्रयोगकर्ताले सिरिञ्ज असुरक्षितरुपले साटफेर गर्दा एचआइभी र हेपाटाइटिसजस्ता सङ्क्रामक रोग फैलिने भएकाले लागुऔषधको दलदलबाट जोगाएर स्वस्थ जीवनमा फर्काउन सरकारले २०६४ देखि नेपालका मेथाडोल मेन्टेनेन्स ट्रिटमेन्ट कार्यक्रममार्फत कुलतबाट मुक्ति दिलाउन यस्तो अभियान देशव्यापीरुपमा सुरु गरेको थियो । त्यही कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारले विसं २०७० मा लागुऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका जारी गरेबमोजिम मेची अस्पतालमा उपचार केन्द्रले सेवा दिइरहेको हो ।
उक्त अस्पतालअन्तर्गत रहेको यस केन्द्रमा हाल ८५ कडा खाले लागुऔषधको सेवनकर्ताले नियमित उपस्थित भएर औषधि सेवन गरिरहेका छन् । स्टाफ नर्स निरौलाले भनिन्, “कम्तीमा छ महिना र बढीमा एक वर्षसम्म हामीले दिएको औषधि नियमित सेवन गरेपछि उहाँहरु सामान्य जीवनमा फर्किनेगरी दुव्र्यसनमुक्त बन्नुहुन्छ ।”
उपचारका लागि धेरैजसो व्यक्ति झापा र इलामबाट समेत आउने गरेका छन् । अस्पतालले उपलब्ध गराएको कोठामा बसेर एक एमबिबिएस चिकित्सक, दुई स्टाफ नर्स, एक लजिस्टिक स्टाफ र एक सुरक्षा गार्डले सेवा प्रदान गरिरहेको उनले जानकारी दिइन् ।
उपचार केन्द्रमा परामर्श कक्ष, जाँच कक्ष र विश्राम कक्ष हुन्छ । मेथाडोल र ब्रुप्रिनोर्फिन औषधि खाएर झुम्म भएकालाई सामान्य अवस्थामा नआउञ्जेल त्यही विश्राम कक्षमा रहने व्यवस्था मिलाइएको हुन्छ ।
भर्खरै केन्द्रको सम्पर्कमा आएका कतिपय औषधि प्रयोगकर्ता झगडालु स्वभावका हुने भएकाले सुरक्षागार्डले उनीहरुलाई नियन्त्रणमा राख्ने गर्छन् । किरिया बारिरहेको, अस्पतालमा उपचारका लागि भर्ना भएको र थुना परेको अवस्थामा बाहेक मेथाडोल र ब्रुप्रिनोर्फिन औषधि अस्पतालबाट बाहिर लैजान दिइँदैन ।