झापा । प्रहरीले मोरङ र धनकुटाका दुई अलग स्थानबाट ६६ केजी लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ भने सिटी सफारी चालक फरार रहेका छन् । विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजाँदै गरेको अवस्थामा ६१ गाँजा किलोग्राम प्रहरीले फेला पारेको हो ।
आज दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । फरार रहेका सिटी चालकको खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैबीच, प्रहरीले धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ फेदीबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहीदभूमि गाउँपालिका ७ बस्ने २६ वर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् ।
हिजो दिउँसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटारतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
को. ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुमाथि शंका लागि प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।