काठमाडाैं ।घटनास्थलबाट आएको सूचना ‘भेरिफाई’ नगरी अनुसन्धान अघि बढाउँदा निर्दोष व्यक्ति १२ दिनदेखि प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् ।
प्रहरीले गत २३ असारको साँझ चाबहिलको शान्ति गोरेटोस्थित खाजा पसलबाट पाँचथर तुम्बेवा गाउँपालिका–५ का ४२ वर्षीय शिव लिम्बूलाई कस्तुरीको बिनासहित पक्राउ गरेको थियो । पक्राउलगत्तै शिवलाई प्रहरीले हिरासतमा लियो । थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला वन कार्यालय काठमाडौं पठायो । हिरासत बसेको १२ दिनपछि पाँचथर साबिक चिलिडदिड –४ का आदम भनिने सुभाष राईले फसाउने उद्देश्यले बिना शिव चढ्ने मोटरसाइकलमा राखेको खुल्यो । प्रयोगशाला परीक्षणपछि फसाउन प्रयोग गरिएको बिनासमेत नक्कली रहेको खुल्यो ।
घटना शंकास्पद लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी दिलीप घिमिरेको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । समितिको अनुसन्धानपछि सुभाषले फसाउने उद्देश्यले शिवको मोटरसाइकलमा नक्कली बिना राख्न लगाएको खुलेको थियो । बिना राख्न उनले गुल्मी मदाने गाउँपालिका–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठलाई प्रयोग गरेका थिए । अनुसन्धानका क्रममा कृष्णले कसुर स्वीकार गरेको कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
‘कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका थिए । पछि यस विषयमा गुनासो आयो । हामीले छानबिन समिति बनायौँ । फसाउने उद्देश्यले नै कस्तुरीको बिनाजस्तो देखिने वस्तु शिव चढ्ने मोटरसाइकलमा राखेको सिसिक्यामेरा फुटेजमा देखियो,’ उनले भने ।
प्रहरीका अनुसार शिव र सुभाषबीच जग्गा कारोबारका सम्बन्धमा विवाद भएको थियो । यही क्रममा शिवले सुभाषलाई कपनमा कुटपिट गरेका थिए । त्यसैको बदला लिन सुभाषले कस्तुरीको बिना खोजे । बिना फेला परेपछि शिव चढ्ने मोटरसाइकलमा राख्ने योजना बनाए । जसका लागि गुल्मीमा कृष्ण श्रेष्ठलाई प्रयोग गर्ने मनस्थितिमा पुगे । कृष्णलाई भने । उनी राजी भए । त्यसपछि शिवलाई निरन्तर पछ्याउन थाले ।
शिव चाबहिलको शान्ति गोरेटोस्थित खाजा पसलअगाडि मोटरसाइकल पार्क गरी खाजा खाँदै गरेको भेटिएपछि सुभाषले कृष्णलाई घटनास्थल बोलाए । योजनाअनुसार कृष्णले रातो झोलामा लुकाइराखेको बिना शिव चढ्ने मोटरसाइकलको सिटमुनि कोचे । कृष्ण आफ्नो बाटो लागे । सुभाषले भने बिनाको सम्बन्धमा प्रहरीलाई फोन गरे । प्रहरी घटनास्थल पुग्यो । सूचनाअनुसार मोटरसाइकलमा छापा हान्यो । नभन्दै सिटमुनि बिनाजस्तो देखिने वस्तु फेला पर्यो । प्रहरीले मोटरसाइकल धनी खोज्यो । खाजा पसलभित्रै रहेको खुलेपछि प्रहरीले शिवलाई त्यहीँ पक्राउ गर्यो । सोही दिनदेखि उनी हालसम्म प्रहरी हिरासतमा छन् । सुभाष भने फरार रहेको प्रहरीको भनाइ छ । ‘गलत नियतका साथ शिवलाई सुभाषले फसाएको देखिन्छ । घटनामा प्रहरीको संलग्नता देखिँदैन । योजनाकार सुभाष भने फरार छन् । उनको खोजीमा प्रहरी लागेको छ,’ एसपी राठौरले भने ।
nayapatrika




