पाँचथर । यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ । पाँचथर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च जोखिममा छन् ।
पहिरोको उच्च जोखिममा रहेका जिल्ला :
पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी हुन् । खोटाङसहित अरू ३१ जिल्ला पहिरोको जोखिम सूचीमा छन् ।
यसपालिको मनसुनमा औसतदेखि धेरै पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि अनुमान गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला हुनसक्ने बाढी/पहिरोसहित सबैखाले विपद्बाट अनुमानित १८ देखि २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आँकलन पनि गरेको छ । सरकारको यो तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनमा बाढी/पहिरोका कारण मात्रै पाँच लाख जनाभन्दा धेरैलाई उद्धार वा राहतको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराई/मधेस क्षेत्रमा बाढीको जोखिम छ ।
पहिरोको क्षति घटाउने कसरी ?
सरकारले बाढी/पहिरोको घटनामा उद्धार तथा राहतमा ढिलाइ नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर जोखिम क्षेत्रका बासिन्दा आफैँ चनाखो हुन सके क्षति कम हुन सक्छ । बाढी/पहिरोपछि उद्धार र राहतमा सरकारले ध्यान दिएको भए पनि पहिरो वा बाढीबाट हुने क्षति न्यूनीकरणका काम र जनचेतनामा त्यो कमजोरी देखिन्छ । अझ विपद् पूर्वको तयारीका लागि काम गर्ने बलियो संयन्त्रकै अभाव रहेको जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख श्रीकमल द्विवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संरचना र संयन्त्रको अभाव भए पनि अहिले बर्खाको बेलामा पहिरो प्रभावित क्षेत्रमा पालिका तह वा स्थानियवासीले सामान्य कुरामा ध्यान दिन सके पनि धेरै क्षति हुनबाट जोगिन र जोगाउन सकिन्छ ।’ भूगर्भ विज्ञसमेत रहनुभएका द्विवेदीका अनुसार बर्खामा भल मात्रै व्यवस्थित गर्न सके पनि पहिरोको जोखिमलाई टार्न सहयोग पुग्छ । आफ्नो घर बस्ती वरपरको जमिन अवस्था हेरेर भल, कुलेसो तथा चिरा परेका ठाउँलाई बेलैमा व्यवस्थित गर्न उहाँको सुझाव छ ।
पहिरो रोकथामका लागि गर्न सकिने केही उपाय :
– बर्खामा वा पानी पर्नुअगाडि घर वरपरको भल तर्काउने
– नजिकै बाटो तथा सडक छ भने नाली सफा गर्ने
– ठूलो पानी परेलगत्तै घर वरपरका कुलेसो पुरिएको हुन सक्छ, त्यसो भए सरसफाइ गर्ने
– जमिन चिरा परेको छ÷छैन यकिन गर्ने
– जमिन चर्किएको, धाँजा फाटेको ठाउँमा भल पानी पस्न नदिने
– भल पानीलाई तर्काएर अन्तै फर्काउने र चिरा परेका ठाउँमा चिम्ट्याइलो माटोले पुर्ने
– बसोबास गरेको ठाउँ असुरक्षित छ भन्ने लागेमा तत्काल सुरक्षित ठाउँमा जाने
अनि बाढी/पहिरोजस्ता प्रकोप परिहालेमा तत्काल पालिका सरकार वा नजिकका सुरक्षा निकायसँग सहयोग माग्न पनि जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख द्विवेदीको अनुरोध छ ।
ujyaalo