काठमाडौं – २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहकार्य थियो। माओवादी केन्द्रकी रेणु दाहाल कांग्रेसकै सहयोगमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन्।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको गठबन्धनमात्रै भत्काएनन् संयुक्त सरकारबाट समेत अलग्गिएर प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा एमालेसँग वाम गठबन्धन गरे। पछि उनले पार्टी एकता नै गरेका थिए।
त्यतिबेला प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनले झन्डै दुई तिहाइ बहुमत ल्यायो भने कांग्रेस २३ सिटमा सीमित भयो। पार्टी एकता भएर बनेको नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने। आलोपाले सरकार सञ्चालन गर्ने सहमति ओलीले तोड्दै गएपछि प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनालको साथ लिएर ओलीविरूद्ध मोर्चाबन्दी गरे।
पार्टीभित्र कमजोर बन्दै गएको चाल पाएपछि ओलीले दुईपटक संसद भंग गरे। त्यसपछि प्रचण्डले माधव नेपाललाई साथमा लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पाँचदलीय गठबन्धन बनाए।
कांग्रेस, माओवादी, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सँगै होमियो।
एमालेलाई ‘साइज’ मा राख्ने उद्देश्यले बनेको पाँचदलीय गठबन्धनले अपेक्षाअनुसारको नतिजा ल्याउन सकेन। यद्यपि, पाँचदलीय गठबन्धनले स्थानीय चुनावमा एमालेलाई कमजोर बनाउन भने सफल भएको छ।
अघिल्लो स्थानीय निर्वाचनमा पनि तेस्रो शक्ति बनेको माओवादी केन्द्र माथि उक्लिन सकेन। गत वर्ष भदौमा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उत्साहजनक नतिजा हासिल गर्नबाट चुक्यो।
स्थानीय तह निर्वाचनको नतिजाले पाँच दलीय गठबन्धनभित्र अविश्वासको वातावरण सिर्जना गरिएको छ। मतभेद बढाइदिएको छ। गठबन्धनले कांग्रेस र माओवादीलाई मात्रै फाइदा पुगेको भन्दै नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता असन्तुष्ट बनेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले त सार्वजनिक रूपमै भनेका छन्–स्थानीय निर्वाचनमा हामीलाई धोका भयो।
उस्तैखाले दाबी जसपाको पनि छ। खास गरेर विराटनगर र जनकपुरधामको सन्दर्भमा।
गठबन्धनका नेताहरूबीच बढिरहेको अविश्वास र असन्तुष्टिका कारण फेरि वाम गठबन्धन हुने चर्चा सुरू भएको छ। र, यो चर्चालाई बल दिएको छ विपरित ध्रुवमा देखिएका वाम नेताहरूको पछिल्लो समय बाक्लिएको भेटघाटले।
एमसिसी अनुमोदनपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको राजनीतिक दौडधुप एकाएक बढेको छ।
श्रेष्ठले जेठ २९ गते आइतबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता। दुवै नेताबीच करिब २ घण्टा छलफल चल्यो।
ओलीलाई भेटेको भोलिपल्ट जेठ ३० गते उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरे।
त्यस्तै मंगलबार बिहान उनले एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खानलसँग उनकै निवास डल्लु पुगेर करिब एक घण्टा छलफल गरेका छन्।
श्रेष्ठको पछिल्लो दौडधुप र नेताहरूबीच भएको छलफलको अन्तर्य प्रष्ट भइ नसके पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्थानीय निर्वाचनमा कांंग्रेस पहिलो शक्ति बनेर उदाउनु र वामपन्थी दलहरूको असन्तुष्टिपूर्ण ‘परफर्मेन्स’ का कारण श्रेष्ठको सक्रियतालाई वामगठबन्धनको प्रयासको रूपमा हेरिएको छ।
नेता श्रेष्ठ भने पछिल्लो भेटघाटहरूमा वाम गठबन्धनबारे कुनै छलफल नभएको दाबी गर्छन्।
उनीनिकट नेताहरू पछिल्लो समय नेपालसँग जोडिएर आएको भूराजनीतिक समस्या र राष्ट्रिय स्वाधीनताको सवालका विषयमा छलफल भएको हुनसक्ने बताउँछन्।
माओवादी र एमाले नेताहरूको भेटको श्रृंखला यतिमा मात्रै सीमित छैन। जेठ ५ गते एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी नेतृ पम्फा भुसालसँग उनकै कार्यकक्षमा भेट गरेका थिए। दुवै नेताबीच करिब ४५ मिनेट छलफल भएको थियो।
यस्तै जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भेटवार्ता भएको थियो।
स्थानीय तह निर्वाचनको परिणामले दोस्रोमा खुम्चिएको एमाले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पहिलो शक्तिकै रूपमा उभिन चाहन्छ। त्यसका लागि उसलाई जसरी पनि पाँच दलीय गठबन्धन तोड्नुपर्ने छ। जसको प्रयास एमालेले एमसिसी प्रकरणमासमेत गरेको थियो। यद्यपि त्यो सफल हुनसकेन।
स्थानीय निर्वाचनको परिणामले सन्तुष्ट देखिएको माओवादी केन्द्र नेपाली राजनीतिको निर्णायक शक्तिको रूपमा उभिएको छ। माओवादी जता ढल्किए पासा उतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा माओवादीको साथ लिन चाहिरहेको छ। पछिल्लो समय बाक्लिएको एमाले–माओवादी नेताहरूको भेटले वामगठबन्धनको सम्भावना बढ्को विश्लेषण हुन थालेको छ।
गठबन्धनको सवालमा कांग्रेसभित्रै द्वन्द्व छ। संस्थापन इतरका नेताहरू सुरूदेखि गठबन्धनको विपक्षमा आफ्ना मत प्रकट गर्दै आइरहेका छन्। त्यसैले गठबन्धनमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण माओवादीले पनि आफ्नो शक्ति सन्तुलनका लागि एमालेको साथ खोजेको आकलन गर्न थालिएको छ।
स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि वाम एकताका लागि नेताहरूले ओलीमाथि दबाब बढाइरहेका छन्। प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, रघुजी पन्तलगायतका नेताहरू वाम एकताका पक्षमा दबाब बढाइरहेको बताइएको छ। स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएपछि ओली पनि वाम एकताका लागि लचक भएको नेताहरूको बुझाइ छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच छलफल चलिरहेको स्वीकार गर्छन। तर, अहिलेकै छलफलले वाम एकताको परिणामसम्म पुग्न नसकिने उनको भनाइ छ।
ज्ञवाली भन्छन्, ‘एमाले र माओवादी नेताहरूबीच भेट भइरहेका छन्। तर, ती भेट वाम गठबन्धनबारे होइन। वाम गठबन्धन मंसिरमा हुने निर्वाचनअघि सम्भव छैन।’
वामगठबन्धनभन्दा पनि राष्ट्रियताको सवामा माओवादीसँग नजिक हुनसक्ने उनको भनाइ छ।
‘हाम्रो विभिन्न दलहरूमाथि इस्युबेस्ड समर्थन र आलोचना हो। मुलुकका सामु देखिएका केही निश्चित मुद्दामा छलफल गरिरहेको छौं। तत्काल वामपन्थी तालमेल वा गठबन्धनको सम्भावना छैन,’ सोमबार सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने, ‘एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको छैन। कांग्रेससँग बार्गेनिङका लागि वाम एकतालगायतको हल्ला चलाइएको छ। चुनावमा ५० प्रतिशत सिट दिने कि नदिने भनेर बार्गेनिङ गर्न सुनियोजित प्रचारबाजीमात्रै हो।’
एमालेमा मात्रै नभएर माओवादी केन्द्रमा पनि प्रचण्डलाई नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेताहरूले वामगठबन्धनका लागि दबाब बढाइरहेका छन्। यस्तै एकीकृत समाजवादीभित्र पनि वाम एकताको बहस सुरू भएको छ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा वाम गठबन्धनको बहस चल्नु स्वभाविक भएको बताउँछन्। ‘वाम गठबन्धनको विपक्षमा जाने कुरा नै भएन। तर, अहिले हल्ला चलिरहेजस्तो पार्टीमा औपचारिक छलफल भएको छैन,’ उनले भने।
देउवालाई २०७४ कै डर!
वाम गठबन्धनको चर्चाले व्यापकता पाउन थालेपछि कांग्रेसलाई २०७४ कै भयले गाँजेको छ। स्थानीय तह निर्वाचन तालमेल गरेर लडेको माओवादीले ‘धोका’ दिएर प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि कांग्रेस २३ सिटमा खुम्चिएको थियो।
अहिले फेरि वाम गठबन्धन भए २०७४ कै परिस्थिति दोहोरिने भय प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई छ। आफूहरूले गठबन्धन तोडे माओवादी फेरि एमालेसँग मिल्ने विश्लेषण देउवाले गरेका छन्। त्यसैले संस्थापन इतरको चर्को दबाब सहेर पनि उनी गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा अडिग छन्।
तर, वामगठबन्धनको चर्चा चलिरहे पनि सफल नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताउँछन्।
‘कसले कसलाई भेट्यो भन्ने कुरालाई नै आधार बनाएर निष्कर्षमा पुग्नु गलत हुन्छ,’ महत भन्छन्, ‘मूल नेतृत्व गठबन्धनकै पक्षमा हुनुहुन्छ। आउने निर्वाचनमा पनि समझदारी कायमै रहन्छ।’
ओली प्रवृत्तिविरूद्ध पाँचदलीय गठबन्धन बनेको र त्यो प्रवृत्ति अन्त्य नभएसम्म कायमै रहने उनको दाबी छ।
‘ओलीजीले जसरी शासन सत्ता सञ्चालन गर्नुभयो त्यसको फलस्वरूप एउटा गठबन्धन बन्यो। त्यसकै आधारमा स्थानीय तहमा समझदारी गरेर चुनाव लड्ने निर्णय भयो। सफलता पनि हासिल भएको छ,’ उनले भने, ‘आसन्न निर्वाचनमा पनि सहकार्य गर्ने नेतृत्व तहमा समझदारी भएको छ। त्यसैले वाम गठबन्धन होला भन्ने मलाई लागेको छैन।’
माओवादी र एमालेका दोस्रो तहका नेताहरूबीच निरन्तर भइरहेको भेटघाटलाई उनी अहिलेको गठबन्धन नरूचाउनेहरूको प्रयास ठान्छन्। ‘वर्तमान गठबन्धन नहोस् भनेर हरेक पार्टीमा केही मान्छेहरूको सुरूदेखि मानसिकता थियो। उहाँहरूको कुराकानी र भेटघाट पनि त्यसैको एउटा स्वरूप हो,’ महत भन्छन्।
महतले पाँचदलीय गठबन्धन टुटाउने र आफ्नो गठबन्धन बनाउने एमाले अध्यक्ष ओलीको प्रयास सफल नहुने दाबी गरे।
‘हिजो त्यही एलायन्सका कारण ओलीजी सत्तामा पुग्नुभयो, उहाँकै कारणले टुट्यो,’ उनी भन्छन्, ‘उहाँ जसरी पनि गठबन्धन टुटाउन खोजिरहनु भएको छ। स्थानीय चुनावलगत्तै गठबन्धन टुट्छ उहाँले भनेकै हो। त्यही सिलसिलामा केही मान्छेहरू चलखेलमा लागि रहेका छन्। तर, उहाँको प्रयास सफल हुँदैन।’
२०७४ को स्थानीय तह निर्वाचनपछि माओवादीले दिएकोजस्तो ‘धोका’ अहिले नदोहोरिनेमा महत ढुक्क देखिन्छन्। अहिलेको परिस्थिति त्यतिबेलाभन्दा विल्कुलै फरक रहेकोले त्यो घटना नदोहोरिने उनको भनाइ छ।
‘त्यतिबेला अहिलेको जस्तो वृहत्तर सहकार्य थिएन। नीतिगत रूपमा समझदारी पनि भएको थिएन। पटक–पटक संसद भंग भएर गठबन्धन बनेको हो,’ महत भन्छन्, ‘अहिलेको परिप्रेक्ष्य र त्यतिबेलाको परिप्रेक्ष्य बेग्लै छ। त्यो घटना दोहोरिँदैन।’