झापा । झापाको दमकमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ ५ बस्ने २१ वर्षीय चन्द्रकुमार योङया र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेका छन् ।
जेठ १३ गते दमक ६ स्थित नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको वडा नं ४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो । खोजतलास गर्ने क्रममा शंखधर चोकमा योङया र कुरुवाङले चलाइरहेको अवस्थामा फेला पारी दुवैलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुलाई अनुसन्धान गर्ने क्रममा थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भनी खुल्न आएको छ । ती मोटरसाइकलहरु समेत खोजी गरी ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भेटिएका मोटरसाइकलहरुमा प्र. १-०१-०१५ प ८६९० नम्बरको पल्सर मोटरसाईकल रहेको छ । जेठ ९ गते गायत्री बोर्डिङ अगाडि पार्किङ गरी राखेको अबस्थामा हराएको थियो । दमक ५ बस्ने ४१ वर्षीय सविन राईको सो मोटरसाइकल जेठ १४ गते पाँचथर मिक्लाजुङ ७ लुमाङदिममा फेला परेको हो ।
त्यस्तै ईलाम चुलाचुली ८ बस्ने ३३ वर्षीया भिमा अधिकारीको प्र.१-०१-०१४ प १२४० नम्बरको पल्सर मोटरसाईकल जेठ ६ गते नेपालीरिका होटल अगाडिबाटै हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ ४ रबिमा फेला परेको थियो ।
त्यस्तै दमक ३ बस्ने ३० वर्षीय खेमराज गुरागाईको मे. ८ प ९२९७ नम्बरको पल्सर मोटरसाईकल जेठ ३ गते दमक ६ स्थित नमुना मार्केटबाट हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ ७ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।
हेर्नुहाेस जिल्ला प्रहरी कार्यालय झापाकाे प्रेस विज्ञाप्ती