काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलहरुले तालमेलपछि स्थानीय तहको निर्वाचनमा सहज विजय हात पर्ने प्रारम्भिक आकलन गरेका छन्। ७ सय ५३ वटै तहका ६ हजार ७ सय ४३ वडामा चुनावी तालमेल गर्ने निर्णय गठबन्धनका दलले गरेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित पाँच दलले स्थानीय तहमा एमाले बढारिने प्रारम्भिक रिपोर्ट प्राप्त भएको एक नेताले जानकारी दिए।
गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिका एक सदस्यले नेपालखबरलाई दिएको जानकारी अनुसार गठबन्धनले देशैभरको सबै तहमा जित निकाल्ने प्रक्षेपण छ। ‘अहिलेसम्मको अवस्थालाई हेर्दा गठबन्धनका सबै दलले इमान्दार भएर मतदातालाई बुझाउन सके कांग्रेसले ३ सय ५० तह जित्ने सम्भावना छ,’ ती नेताले भने, ‘नेकपा माओवादी केन्द्रले २ सय ५० तह जित्छ। गठबन्धनमा रहेका अरु तीन दलले १ सय बढी तह जित्ने निश्चित छ।’
त्यही भएर गठबन्धनका दलले तल्लो तहमै भागबण्डाको निर्णय होस् भन्ने चाहेका छन्।माओवादी केन्द्रका नेता वर्षमान पुनले तल्लो तहबाट सहमति बनेर आएका ठाउँमा गठबन्धनबीच चुनावी तालमेलमा समस्या नहुने बताए। ‘हामीले स्थानीय तहको चुनावी तालेमल गर्ने निर्णय तल्लै कमिटीलाई दिएका छौँ,’ पुनले नेपालखबरसँग भने, ‘त्यसो गर्दा त्यहाँ सबैले अपनत्व महसुस गर्नुहुन्छ र गठन्धनको दलमा हार्दिकता हुन्छ। सबैले मतदातालाई कन्भिन्स गर्दा नतिजा गठबन्धनले पाउँछ।’
एक्लै चुनाव जित्ने योजनामा रहेको कांग्रेस पछिल्लो समय गठबन्धनबाट जित्ने संख्या बढ्ने देखेर चुनावी तालमेलमा लचक हुँदै गएको एक नेताले बताए। ‘कांग्रेसले एक्लै चुनाव लडेको भए २०७४ मा जितेको स्थानीय तहबाट केही मात्र बढाउने थियो। तर, गठबन्धन बनेपछि उसले कम्तीमा ९० बढी तह जित्ने विश्लेषण गरेको छ,’ गठबन्धनका ती नेताले भने, ‘पाँचै दलको अवस्था सुधार हुनेछ। नयाँ पार्टी एकीकृत समाजवादीको समेत देशभर राम्रो प्रभाव देखिनेछ।’
जनमोर्चाको देशभर संगठन नभए पनि गठबन्धनमै रहेकाले गाउँ कार्यपालिका, नगर कार्यपालिकामा उपस्थिति हुनेछ। ‘उहाँहरुको अर्घाखाँची, प्युठान र बाग्लुङमा निकै राम्रो प्रभाव छ, त्यही आधारमा बाँडफाँट गरिन्छ,’ माओवादी नेता पुनले भने, ‘अन्य तहमा पनि सम्मानजनक उपस्थिति रहन्छ।’ ठबन्धनले पाँचै दललाई निकै फाइदा पुग्ने र बढी फाइदा भने कांग्रेसले लिने देखिन्छ।
२०७४ मा २ सय ६३ स्थानीय तह जितेको थियो। गठबन्धनले अघिल्लो पटक जितेका दललाई नै सो तह छाड्ने हिसाबले तालमेलको मोडालिटी तयार गर्दैछ।
‘विभिन्न विकल्पमा छलफल भइरहेको छ,’ जसपाका वरिष्ठ नेता अशोक राईले भने, ‘राष्ट्रिय सभाको मोडल, मिश्रित मोडल, अपनाएर मोडालिटी बन्छ।’कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ‘स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति’ले मोडालिटी बनाउने जिम्मा पाएको छ। बुधबार बसेको समितिको बैठकले मोडालिटी बनाउनुअघि समितिको टीओआर प्रष्ट बनाउन शीर्ष नेता सम्मिलित गठबन्धनलाई आग्रह गरेको छ।
‘समिति हो कि, कार्यदल भन्ने प्रष्ट भएन,’ जसपाका वरिष्ठ नेता राईले नेपालखबरसँग भने, ‘यसको टीओआर प्रष्ट बनाउन र अधिकार क्षेत्रबारे शीर्ष नेताको बैठक बसेर यकिन गर्न आग्रह गरेका छौँ, हामी भोलि नै यसको टीओआर माग्छौँ।’ समितिको बैठक फेरि २७ गते बस्दैछ। २६ गतेभित्र तलबाट आएका सुझाव हेरेर मोडालिटीबारे साझा सहमति गराउने राई बताउँछन्।
‘माथिबाट बनाएको त्यो मोडालिटीको फ्रेमभित्र सबै अटाउन सक्ने देखिएन,’ राईले थपे, ‘सहमत भए भइहाल्यो, नभए त्यो सुन्ने र अगाडि जान माथिल्लो निकाय छँदैछ। यही मापदण्डका आधारमा तलै अभ्यास गर्न दिऊँ भन्ने समझदारी भएर केही दिन समय थप गरियो।’
केही जिल्लामा छलफल नै भएन
राईका अनुसार केही जिल्लामा कांग्रेससहितको गठबन्धनले छलफल नै गर्न सकेको छैन‘धेरैजसो जिल्लाले पाँचै दल रहेको संयन्त्र बनाइसकेका छन्, तर केही जिल्लामा छलफल पनि भएको रहेनछ, ती जिल्लामा किन छलफल नभएको हो? छिटो सहमति गरेर टुंगो लगाउन आग्रह गरेका छौँ,’ राईले भने।
बागमती प्रदेशका रसुवा, प्रदेश १, मधेश प्रदेशको केही जिल्लामा अझैसम्म गठबन्धन दलको बैठक नै बस्न सकेको छैन।गुल्मी लगायतका केही जिल्लाले भने हार्दिकतापूर्वक गठबन्धनको पक्षमा माहोल बनाउने, अध्यक्ष, उपाध्यक्ष र स्थानीय तह नै बाँडफाँट गरिसकेको रिपोर्ट प्राप्त भएको राईले जानकारी दिए। ती जिल्लामा सहमति गरेर चुनावी प्रचारप्रसार समेत थालिसकेको जानकारी आएको उनले बताए।
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चितवनको भरतपुरमा कांग्रेसले लिएको अडान र कर्णाली प्रदेशका केही जिल्लामा माओवादी केन्द्रले लिएको अडानबाहेक ९९ प्रतिशत स्थानमा चुनावी तालमेल गर्ने सहमति बनिसकेको बताए।
अघिल्लो जनमतलाई मात्र आधार मान्नुहुन्नः बेदुराम भुसाल
मोडालिटी बनाउँदा राष्ट्रिसभा निर्वाचनको मोडल पनि हुन्छ। त्यो मात्र आधार बन्दैन। पहिला जितेका स्थानमा त्यसले जित्छ नै भन्ने ग्यारेन्टी छैन। माओवादी र कांग्रेस तालमेल गरेर जितेको, जसपामा पहिला बाबुराम भट्टराई र राजपा नभएको र अहिले एकै ठाउँ भएको स्थिति फरक हो। हिजोको जनमतका आधारमा मात्र गर्दा व्यवहारिक हुन्न।
गठबन्धनले तलैसम्म उत्साह जगाएको छ। आजको बैठकमा रामचन्द्रजीले कसरी जाने, व्यवहारिक र कार्यान्वयन गर्ने हिसाबले मिलेर जाऊँ भन्ने प्रस्ताव ल्याउनुभयो, तलैसम्म मिलाएर जाने हो।
एमालेले जितेको ठाउँ बाँडफाँट हुन्छः वर्षमान पुन
वडा तहसम्म चुनावी तालमेल हुन्छ। गठबन्धनप्रति कांग्रेस सकारात्मक भएको छ। जितेका ठाउँमा जितेको दलले नै लिने हो, एमालेले जितेको ठाउँ नै बाँडफाँट हुन्छ। गठबन्धनमा रहेका दलहरु इमान्दार हुनैपर्छ। अहिलेको निर्वाचनमा सबैको लागि परीक्षा भनेको को कति इमान्दार हुन्छ र मतदातालाई कसरी आफ्ना कुरा लैजान्छ भन्ने हो।